नेपालमा फेरि बढ्न थाल्यो कोभिड

25

बीबीसी । नेपालमा पुनस् कोरोनाभाइरस सङ्कमण बढ्न थालेको भन्दै अधिकारी तथा विज्ञले “लक्षण देखिने बित्तिकै परीक्षण गराउन” तथा “स्वास्थ्य सचेतना अपनाउन” आग्रह गरेका छन्। स्वास्थ्य मन्त्रालयका अधिकारीका भनाइमा नेपालको दक्षिणी छिमेकी मुलुक भारतमा पनि सङ्क्रमण केही बढेको देखिएकाले सतर्कता अपनाउनुपर्ने अवस्था आएको हो।

अहिले भइरहेको सङ्क्रमणमा भाइरसको नयाँ भेरिअन्ट पाइएको पुष्टि नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।अधिकारीहरूका भनाइमा नेपालका विभिन्न स्थानमा भएका सङ्क्रमण नयाँ भेरिअन्टका कारण हो कि भनेर नमुनाको जीन सिक्वेन्सीङ गर्ने काम पनि समयसमयमा जारी रहेको छ। कोभिडविरुद्धको खोप कार्यक्रम पनि चलिरहेको उनीहरू बताउँछन्।

सङ्क्रमणको अवस्था के छ ? 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको विवरणअनुसार पछिल्लो पटक नेपालमा कुल १,४२९ जनाको परीक्षण गर्दा २४ जनामा सङ्क्रमण देखिएको छ। यो मन्त्रालयले मङ्गलवार सार्वजनिक गरेको विवरण हो।

सोमवार भने कुल १,२६६ जनाको परीक्षण गर्दा ६९ जनामा सङ्क्रमण देखिएको थियो। मन्त्रालयले सार्वजनिक गरेको गएको एक साताको विवरण हेर्दा कोरोनाभाइरसको सङ्क्रमण क्रमशस् बढ्दै गइरहेको जस्तो देखिएको छ।नेपालमा अहिले दैनिक औसतमा एक हजार जति नमुनाको परीक्षण भइरहेको मन्त्रालयको विवरणमा देखिन्छ।एक साताअघि चैत ७ र ८ गते सङ्क्रमण शून्य थियो। त्यसअघि पनि सङ्क्रमण दोहोरो अङ्कमा खासै देखिएको थिएन तर अहिले सङ्क्रमण बढ्न थालेको देखिएको मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले बताए।