निःशुल्क माटो परीक्षण पछि किसान खुसी

35

सिन्धुली । कमलामाई नगरपालिका–७ बर्देउटारमा निःशुल्क माटो परीक्षण गरिएको छ । कृषि विशेषज्ञसहित कृषि तथा पशुपक्षी विकास मन्त्रालयको सहयोगमा त्रिभुवन विश्वविद्यालय कृषि र पशु विज्ञान अध्ययन संस्था रामपुरको आयोजनामा माटो परीक्षण गर्दा किसान खुसी भएका हुन् । माटोको उर्वराशक्ति पत्ता लगाई माटोमा अम्लिय र क्षारियपना पत्ता लगाउन शिविर आयोजना गरिएको कृषि र पशु विज्ञान अध्ययन संस्था रामपुरका प्राध्यापक डा कृष्णविलाश अधिकारीले जानकारी दिनुभयो । खेतमा किसान, विद्यार्थी र कृषि विशेषज्ञसहितको टोलीको सो कार्य गरेको हो ।

शिविरमार्फत तरकारी र अन्नबालीका लागि माटो उपयुक्त छ या छैन भनी परिक्षण र किसानलाई परामर्श दिइएको थियो । किसानलाई कम्पोष्ट, युरियामल, पोटास, कृषि चुन कसरी प्रयोग गर्ने भनेर जानकारी गराइएको थियो । खाद्यान्न उत्पादन वृद्धि गर्ने लक्ष्यसहित बागमती प्रदेशका तीन जिल्लामा माटो परीक्षण शिविर सञ्चालन गरिएको हो ।

माटो परीक्षण गर्दा नाइट्रोजन कम, फस्फोरस मध्यम र पोटास उच्च पाइएको कृषि र पशु विज्ञान अध्ययन संस्था रामपुरका माटो विज्ञ कृष्ण अर्यालले भन्नुभयो । किसानले युरिया मलको मात्र प्रयोग गर्दा माटोमा अम्लियपना बढी हुने र खाद्यतत्व उत्पादनमा कमी हँुदै जाने उहाँको भनाइ थियो । बदर्उेटार, डाँडाटोल, खैरेनी र माझीटारमा रहेका खेतीयोग्य जमिन मकै र धान बाली उपयुक्त हुने उहाँले बताउनुभयो । किसानलाई जग्गाको क्षेत्रफलअनुसार युरिया, डिएपी र पोटास मल प्रयोग गर्न सल्लाह दिइएको थियो । बर्देउटारका कृष्णबहादुर कार्कीले पहिलो पटक माटो परीक्षण गराएको बताउनुभयो । माटो परीक्षण गर्न प्रतिकिसान रु पाँच सय लाग्ने र निःशुल्क माटो परीक्षणसँगै कृषि विज्ञसमक्ष आफ्ना समस्या राख्न पाउँदा खुसी लागेको उहाँको भनाइ थियो ।