उदयपुर– हरियो तरकारी उत्पादनका उदयपुर लागि उर्वर भूमि मानिए पनि हरियो तथा मौसमी तरकारीहरू उत्पादन घट्दा जिल्लाभित्र विभिन्न रासायनिक पदार्थ, भएको तरकारीको आयात बढ्न थालेको छ । फागुनको पहिलो हप्तासम्म स्थानीयस्तरमा उत्पादन भएको हरियो तरकारीले जिल्लाभित्र धाने पनि मौसमी तरकारीको उत्पादन कम हुँदा रासायनिक पदार्थ प्रयोग गरिएको र आयातित महँगो तरकारी किनेर खान बाध्य भइएको उपभोक्ताहरू बताउँछन् ।
केही समयदेखि जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा उत्पादन भएको मौसमी तरकारी सकिएकाले अहिले जिल्ला गाईघाटका उपभोक्ताले आयात गरिएका महँगा सब्जी किनेर खान बाध्य हुन परेको गाईघाट शान्तिनगर टोलका रमा भट्टराईको गुनासो छ । उनले भने ‘स्थानीयस्तरमा उत्पादन भएको हरियो तरकारी सकियो, सब्जी व्यापारीहरूले बाहिरबाट विभिन्न रासायनिक पदार्थ हालिएका सब्जीहरु खरिद गरेर ल्याउँछन्, त्यो पनि दोब्बर महँगो मूल्यमा किनेर खान बाध्य भएका छौँ ।’
भट्टराईका अनुसार फागुन दोस्रो हप्तासम्म स्थानीयस्तरमा उत्पादन गरिएका हरियो तरकारीहरू सस्तो मूल्यमा नै उपलब्ध हुने गरेको थियो तर अहिले दोब्बर महँगो मूल्य तिरेर खरिद गर्नुपरेको छ । दश दिनअघिसम्म प्रतिकिलो काउली ४० देखि ५० मा खरिद गरिन्थ्यो तर अहिले आयातित काउलीको मूल्य प्रतिकिलो रु एक सयदेखि एक सय २५ पुगेको गाईघाट सङ्गमटोल निवासी देवकी थापा बताउँछिन् ।
प्रतिकिलो मूला ५० देखि ६० रहेकामा एक हप्तापछि एक सय प्रतिकेजी पुगेको छ भने अन्य हरियो सब्जीको मूल्य पनि दोब्बरभन्दा बढीले वृद्धि हुनाका साथै बासी, सडेगलेको सब्जी पनि किन्नुपर्ने अवस्था आएको उपभोक्ताले गुनासो गर्न थालेका छन् । गाईघाटका एक सब्जी व्यापारी सुकदेव साहले बताए ।