फैसला पूर्वाग्रही भएपनि धरौटी राखेर सर्वोच्च जाने हैसियत छैन

52

काठमाडौँ । भ्रष्टाचार अभियोगमा ९ वर्ष ६ महिनाको सजाय सुनाइएका पूर्वमन्त्री बद्री न्यौपानेले विशेष अदालतको फैसला पूर्वाग्रही भएपनि आफू पुनरावेदनमा जान सक्ने अवस्थामा नरहेको बताएका छन् ।मङ्गलवार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै न्यौपानेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाग्रहका साथ मुद्दा लगाएको र त्यस्तै फैसला भएको दाबी गरे ।

पुनरावेदन गर्न जरिवाना र कैद बराबर दिनको ३०० रुपैयाँ धरौटी राख्नुपर्ने भन्दै उनले आफूसँग जग्गा, बैंक ब्यालेन्स नभएको बताए । साथै भाइको घरमा शरणार्थी बसेको भन्दै आफूसँग धरौटी राख्ने पैसा र सर्वोच्च अदालतमा जाने हैसियतसमेत नरहेको बताए । उनीमाथि भृकुटीमण्डपको जग्गा भाडामा दिँदा भ्रष्टाचार गरेको अभियोग लागेको छ ।

समाज कल्याण परिषद्ले कार्यसमितिबाट निर्णय गरेर जग्गा भाडामा लगाउने गरेको छ । तर आफूले फूल बोर्डको बैठक राखेको र मन्त्रिपरिषदमा समेत प्रस्ताव लगेको बताए । मन्त्रिपरिषद्ले परिषद् आफैँमा स्वसासित संस्था हो, यसअघि जे गरेको छ, त्यही अनुसार गर्नु भनेर आएपछि आफूले बोर्ड बैठक राखेर निर्णय गरेको उनले सुनाए ।

एक लाख ७५ हजार (भ्याटसहित २ लाख २ हजार ४००) रहेको भाडालाई ५ लाख ५५ हजारको सम्झौता गर्ने निर्णय गरेको भन्दै उनले भने, ‘५ वर्षमुनि कसैलाई टिकट लाग्दैन, ६० वर्षभन्दा माथि लाग्दैन । १० बजेदेखि ५ बजेसम्म खुल्छ । त्यसलाई इच्छुमती तरकारी बजारसँग (भएको सम्झौता) दाँजेर ममाथि लान्छना लगाइयो ।’ भाडामा लगाउने निर्णय गर्ने प्रक्रियामा सहभागी ५ जना उपसचिवलाई सफाइ दिएको, तर आफूलाई ९ वर्ष ६ महिना कैद, २ करोड ४३ लाख बढी जरिवाना र त्यति नै बिगो भराउने निर्णय गर्नु पूर्वाग्रही भएको उनले बताए ।