करिडोर प्रसारणलाइनको अवरोध हटाउन पहल सुरु

18

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको उच्चस्तरीय टोलीले कालीगण्डकी करिडोर २२० केभी प्रसारणलाइन आयोजना निर्माणमा पर्वतको फलेवासमा भइरहेको अवरोध हटाउन पहल थालेको छ । देवीस्थानस्थित विद्यालय र रङ्गशालामा क्षति पुग्ने भन्दै स्थानीय बासिन्दाले विगत तीन वर्षदेखि प्रसारणलाइनको रुट सार्न माग गर्दै निर्माणमा अवरोध गर्दै आएका छन् । स्थानीयको अवरोधका कारण फलेवासमा प्रसारणलाइनका ४ वटा टावर निर्माण हुन सकेको छैन ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, आयोजना व्यवस्थापन निर्देशनालयका उपकार्यकारी निर्देशक ताराप्रसाद प्रधान, आयोजना प्रमुख चन्दन घोष सम्मिलित उच्चस्तरीय टोलीले निर्माणमा अवरोध भइरहेको फलेवास-६ देवीस्थानको स्थलगत निरीक्षण गरेको छ ।

टोलीमा पर्वतका जिल्ला समन्वय प्रमुख विष्णुराम बिक, फलेवासका नगरप्रमुख गंगाधर तिवारी, उपप्रमुख शोभाकुमारी क्षेत्री, प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बराल, निवर्तमान नगर प्रमुख पदमपाणी शर्मा, प्रहरी नायव उपरीक्षक मधुसोधन न्यौपाने, वडाध्यक्ष नवीन श्रेष्ठ लगायत सहभागी थिए । टोलीले प्रसारणलाइन निर्माण स्थलको स्थलगत निरीक्षण गरी स्थानीय बासिन्दाहरूसँग छलफल गरेको छ ।

टोलीले कालीगण्डकी र यसका सहायक खोलानालामा निर्माण हुने जलविद्युत आयोजनाहरूको विद्युत् प्रवाहका लागि यो लाइन महत्त्वपूर्ण रहेकाले निर्माणमा अवरोध नगरिदिन आग्रह गरेको थियो । लाइन अभावमा जलविद्युत आयोजनाहरूको विद्युत् मुख्य रूपमा वर्षायाममा प्रवाह गर्न नसकिएको भन्दै टोलीले यसबाट राष्ट्रलाई ठूलो क्षति भइरहेकोले निर्माणमा सहयोग गरिदिन अनुरोध गरेको थियो ।प्रसारणलाइनको टावर सार्न सम्भव भएरनभएको विषयमा प्राविधिक टोलीले ४/५ दिनभित्रमा सर्वेक्षण सम्पन्न गर्ने सहमति भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।