शान्ति सम्झौता विपरीतका गतिविधिको प्रतिवाद गर्ने निर्णय

24

काठमाडौँ । माओवादी धारका विभिन्न पार्टी तथा समूहको बैठकले विस्तृत शान्ति सम्झौताको मर्म र भावना विपरीत हुने कुनै पनि गतिविधिको विरोध र प्रतिवाद गर्ने भएका छन् । पछिल्ला दिनमा शान्ति सम्झौता विपरीतका गतिविधि सतहमा देखिन थालेको ठहर गर्दै जनयुद्धकालीन माओवादीका शीर्ष नेताको आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले एकमतका साथ अगाडि बढ्ने निर्णय गरेका छन् ।

‘सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित सबै विषय सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमार्फत अगाडि बढाउनुपर्छ भन्नेमा एकमत छौँ । शान्ति प्रक्रियाका बाँकी काम शीघ्र रूपमा कार्यान्वयन गर्न ध्यानाकर्षण गराइएको छ’, बैठकपछि जारी संयुक्त विज्ञप्तिमा उल्लेख छ । यस्तै, विभिन्न समयमा राज्यसँग भएका सम्झौता कार्यान्वयन गर्न प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ ।

शान्ति सम्झौता अनुसार गठन भएको सत्य निरूपण तथा बेपत्ता नागरिक छानबिन आयोगको कामलाई प्रभावकारी बनाएर लैजाने विषयमा समेत बैठकमा महत्त्वपूर्ण छलफल भएको बताइएको छ । ‘सङ्क्रमणकालीन न्यायको प्रक्रिया विपरीतका काम कारबाहीले शान्ति सम्झौताको कार्यान्वयनमा सहयोग पुर्‍याउँदैन भन्ने कुरामा हामी स्पष्ट छौँ’, विज्ञप्तिमा भनिएको छ, ‘शान्ति प्रक्रियाका बाँकी काम टुङ्गो लगाउन आवश्यक कानुनी एवम् संस्थागत व्यवस्थाका लागि तत्काल पहल गर्न सरकारसँग माग गर्दछौ ।’ शान्ति सम्झौता र परिवर्तन विरुद्ध हुने कुनै पनि गतिविधिको प्रतिवाद गर्न आफूहरू एकमत रहेको बैठकले ठहर गरेको छ ।