अधिकार प्राप्त नभएसम्म पहिचानको आन्दोलन जारी

51

झापा । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमन लाल मोदीले पहिचानको आन्दोलन जारी रहने बताएका छन् । झापाको कन्काई नगरपालिका वडा नं. ९ मा राजवंशी समाज विकास समितिद्वारा आयोजित राजवंशी धर्म संस्कार प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्ने क्रममा मन्त्री मोदीले यस्तो बताएका हुन् ।

मन्त्री मोदीले आफू सम्बद्ध पार्टी माओवादी केन्द्रले नै पहिचानको मुद्दा उठाएको स्मरण गर्दै प्राप्त हुन बाँकी उपलब्धिका लागि सङ्घर्ष जारी रहने बताए । मन्त्री मोदिले भने।,‘एमाले काँग्रेसले यो देशमा गणतन्त्र आउनै सक्दैन भन्थे, आज हामी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा छौँ । कुनै न कुनै बेला सङ्घर्षको प्रतिफल प्राप्त हुन्छ, ढिला हुन सक्ला तर पहिचानको आन्दोलनले अवश्य प्रतिफल प्राप्त गर्छ ।’

मन्त्री मोदीले १ नम्बर प्रदेशको नाम कोसी राखिसके पनि पहिचानसहितको नामका लागि सङ्घर्ष जारी रहने बताए । ‘१ नम्बर प्रदेशको नामकरण भइसकेको छ । हामी पहिचानसहितको नामकरणकै पक्षमा थियौँ, तर काँग्रेस र एमालेले कोसीबाहेकको नाम सुन्नै चाहेनन् । सङ्घर्षको अध्याय सकिएको छैन, पहिचानसहितको नामकरणको लागि हाम्रो सङ्घर्ष झन् कठोर भएर अगाडि बढ्छ,’ उनले भने । मन्त्री मोदीले माओवादी आन्दोलनले नै पहिचानको आन्दोलन जन्माएको बताउँदै भने, ‘पहिचानकै लागि माओवादीले १० वर्षे जनयुद्ध गरेको हो, हजारौँ सहिदले बलिदानी गरेका हुन्, लाखौँ घाइते अपाङ्ग र टुहुरा भएका हुन् । त्यसैले अधिकार प्राप्ति नभएसम्म पहिचानको आन्दोलन जारी रहन्छ ।’