‘राष्ट्रलागि नेम्वाङलाई उम्मेदवार बनाएको हौं ‘

31

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरूले दलीय स्वार्थ नभएर राष्ट्रिय स्वार्थकालागि सुवाष नेम्वाङलाई उम्मेदवार बनाएको दाबी गरेका छन् । यसका लागि समग्र नेपाली जनता र सबै तर्फबाट सहयोग पाउने उनले विश्वास व्यक्त गरे ।

नेपाली कांग्रेस नेतृत्वमा आठ दलीय गठबन्धन नै नबनेको दाबी गरेका छन् । अध्यक्ष ओलीले एमालेको तर्फबाट  नेम्वाङले राष्ट्रपति पदका लागि उम्मेदवारी दिएपछि सञ्चारकर्मीसँग यस्तो प्रतिक्रिया दिएका हुन् ।आठ दलहरूबीच राष्ट्रपतिमा कांग्रेसलाई सघाउने कुनै पनि सहमति नभएको पनि अध्यक्ष ओलीको जिकीर थियो ।

सत्तारुढ गठबन्धन तलमाथि नभएकाले आफूहरुको उम्मेदवार नेम्वाङ अत्याधिक मतका साथ राष्ट्रपति पदमा विजयी हुने उनको दाबी छ । नेम्वाङलाई राष्ट्र र जनताको सर्वोपरी हितलाई ध्यानमा राखेर राष्ट्रपति पदको उम्मेदवार बनाएको पनि उनले बताए ।

‘हामीले हाम्रो पार्टीको तर्फबाट र खासगरी नेपाली जनताकै तर्फबाट देशभक्त, लोकतान्त्रिक, सुशासन र विकासका पक्षधर शक्तिहरुको तर्फबाट अत्यन्तै अनुभवी, कानुनविद्, लामो समय सभामुख जस्तो गरिमामय पदमा रहेर जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्नु भएका उम्मेदवार उठाएका छौं’ ओलीले भने ।