काठमाडौं । निर्वाचन आयोगका अनुसार राष्ट्रपति निर्वाचनमा ८८१ मतदाता रहने छन् । निर्वाचन आयोगले तयार गरेको मतदाता नामावलीमा ८८१ जनाको नाम छ । जसमा प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रियसभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्न पाउनेछन् । तर यस पटकको राष्ट्रपति निर्वाचनमा तीन जना मतदाता कम हुनुसक्नेछन् ।
प्रतिनिधिसभाका २७५ मध्ये चितवन २ बाट निर्वाचित रवि लामिछाने पदमुक्त भएका र मनाङबाट निर्वाचित टेबहादुर गुरुङ निलम्बनमा परेका कारण मतदान गर्न पाउने छैनन् । अर्का एक जना मतदाताको विषयमा आयोगले निर्णय गर्न बाँकी छ । जसको नाम आयोगले खुलाएको छैन । तथापि, महोत्तरी–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य लक्ष्मी चौधरी कोइरीले मतदान गर्न पाउने वा नपाउने भन्ने विषयमा आयोग निर्णयमा पुगेको छैन । निर्वाचन आयोगले फागुन २५ गते राष्ट्रपतिको निर्वाचन गर्ने निर्णय थियो । उपराष्ट्रपतिको निर्वाचन भने चैत ३ गते हुने बताइएको छ।
नेपालको संविधान अनुसार राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फरक फरक लिङ्ग वा समुदायको प्रतिनिधित्व हुने गरी गर्नुपर्ने भएकाले फागुन २५ को निर्वाचनको नतिजाका आधारमा कस्तो व्यक्ति उपराष्ट्रपति हुने टुङ्गो लाग्नेछ।राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आगामी फागुन २८ गते र उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यकाल चैत ३ गते सकिँदैछ।संविधानअनुसार नेपालको राष्ट्रप्रमुखका रूपमा राष्ट्रपति रहन्छन्। राष्ट्रपतिको अनुपस्थितिमा राष्ट्रपतिको कार्यभारसमेत सम्हाल्ने जिम्मेवारी उपराष्ट्रपतिले पाउँछन्।