लामो समयसम्म तनाव भइरहेमा यहि नै पछि गएर मानसिक रोग, जस्तै– डिप्रेशन आदिमा परिणत पनि हुनसक्छ ।
लगातारको रिस, आवेग र आक्रोशले मुटुका कोषहरूलाई विगार्ने काम गर्छन् र शरीरमा नराम्रो खालको बोसो बढाउने काम गर्छन् ।
रिस उठ्दा वा आवेगमा आउँदा हाम्रो मुटुको धड्कन बढ्छ । हाम्रो शरीरको एड्रेनालिन नामक तजावजन्य आन्तरिक रस (स्ट्रेस हर्मोन) बढ्छ । एड्रेनालिनले रक्तचापलाई बढाउँछ र यसले गर्दा शरीरका कोषिकामा भएको कोलेस्टेरोल रगतमा प्रभावित हुन्छ ।
लगातार तनावमा भइरहने मानिसको अनुहार अँध्यारो र कालो हुन्छ । हामी कुनै मानिसलाई देखेर भन्ने पनि गर्छौं, ‘कस्तो, जहिले पनि रिसाइरहने अनुहार ! ’ कुनै मानिसको उज्यालो अनुहार देखेर हामी भन्ने गर्छौं, ‘जहिले पनि हाँसेको हाँसेकै, केही चिन्ता पीर छैन कि क्या हो ? ’ एकातिर चिन्ताले पेटमा घाउ पनि पार्छ भने अर्कोतिर मानिसले ठूल्ठूला दुःख र पीडालाई पनि बिर्सेर जीवन चलाएको हुन्छ ।
मानसिक तनावलाई हटाउने उपाय
आधुनिक मानसिक तनावलाई हटाउन सकिंदैन । तर कुनै समस्यालाई तपाईं कसरी हेर्नुहुन्छ भन्ने दृष्टिकोण फरक पारेर पनि चिन्ता र तनावबाट केही हदसम्म बच्न सक्नुहुन्छ ।
जस्तै, कुनै दिन घर फोहोर भएको बेलामा पाहुना आए भने तपाईं भित्रभित्रै मुर्मुरिनु हुन्छ । यसलाई तपाईंले कुचो लगाउन पाउनु भएन भन्ने सोचेर श्रीमान्सँग रिसाउँदै बच्चालाई झापड हिर्काउनु भन्दा अर्कै दृष्टिकोणले हेर्न सकिन्छ ।
जस्तो सोच्नुहोस, ‘पाउनाहरू आउँदा घर केही फोहर त भयो । तर तर आफ्नै घर हो सफा भइहाल्छ । पाहुनाहरू कुनै अर्कै लोकका मानिसहरू होइनन् । चिनेजानेका मान्छे त हुन् नि ।’
सोचाइमा यसरी साधारण परिवर्तन हुने बित्तिकै तपाईंको मनमा विषालु तत्व पस्न पाउँदैन ।
मानसिक तनाव कम गर्ने अर्को उपाय हो–शारीरिक व्यायाम । लगातार गरिरहने कामले गर्दा वाक्क हुँदा तनाव उत्पन्न हुन्छ । त्यही तनावले फेरि स्वास्थ्यमा नराम्ररी प्रभाव पार्न सक्छ । त्यसैले बिहान–बेलुका हिड्ने, कसरत गर्ने र तनाव घटाउन सकिन्छ ।
हिंड्दा, दौडदा, खेल्दा, हाँस्दा शरीरमा सकारात्मक रसहरू पैदा हुन्छन् । तिनले शारीरिक तनावबाट पैदा हुने विषालु तत्वका असर हटाउनमा भदत गर्छन् ।
आजको समाजमा हामी सबैलाई आर्थिक समस्या थोरबहुत मात्रामा अवश्य पर्छ । यस्तो बेलामा श्रीमान् र श्रीमतीको बीचमा हुने ठाकठुकले उनीहरूमा मात्र तनाव बढ्ने होइन कि यसको असर बच्चाहरूको शारीरिक र मानसिक स्वास्थ्यमा समेत पर्छ ।
आर्थिक समस्यालाई आजको भोलि नै सुल्झाउन सकिन्न । तर आफ्ना जरूरतहरू कम गरेरचाहिंँ केही हदसम्म बच्न सकिन्छ ।
तनावरहित भएर बाँच्ने उपाय, हेरौँ
–तनाव उत्पन्न गराउने कारक तत्वबाट सकेसम्म टाढा रहने ।
–सकेसम्म शान्त भएर बस्न प्रयास गर्ने ।
–यति गर्दा पनि तनाव आइरहन्छ, त्यसलाई पन्छाउन सकिँदैन भन्ने लाग्यो भने त्यसप्रति उपेक्षाभाव राख्ने ।
–दुःखद् वा आवेगपूर्ण स्थितिमा पनि धैर्यधारण गर्न प्रयास गर्ने ।
–मनभित्र दबिएर बसेका भावना वा कुण्ठालाई बाहिर निकाल्ने ।
–सम्भव भएसम्म खुसी र आनन्दपूर्ण वातावरणमा बस्ने ।
–सत्संग गर्ने । सकारात्मक भावनायुक्त साथीसँगीसित मात्र संगत गर्ने ।
–सात्विक वा सादगीपूर्ण आहारविहार एवं जीवनशैली अँगाल्ने ।
–गहिरो सास लिने, छोड्ने र नियमित प्राणायाम गर्ने । नियमित योगाभ्यासका साथै दैनिक कम्तीमा २० मिनेट ध्यान गर्ने ।
–यति गर्दा पनि तनावसम्बन्धी मानसिक तथा शारीरिक लक्षण देखा परेको अवस्थामा चिकित्सकको परामर्श लिने ।













