प्रधानमन्त्री दाहालसँग भेटेर मोबाइल व्यवसायीले मागे क्षतिपूर्ति

70

काठमाडौँ । मोबाइल व्यवसायीहरूले सरकारसँग नयाँ बसपार्क क्षेत्रमा १ फागुनमा भएको यातायात मजदुरको आन्दोलनका कारण भएको क्षतिको क्षतिपूर्ति माग गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट गर्दै मोबाइल व्यवसायी सङ्घले गोङ्गबु बसपार्कको ल्होत्से मलमा सञ्चालनमा रहेको मोबाइल पसलहरूबाट भएको मोबाइल, ल्यापटपको चोरी र संरचना तोडफोडबाट अनुमानित ८ करोड बराबरको क्षति भएको जानकारी गराएको छ ।

प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापन पत्रमा निर्धक्क व्यवसाय गर्न नसकिने परिस्थिति उत्पन्न भएको उल्लेख छ । ज्ञापन पत्रमा भनिएको छ, ‘दिन दहाडै सुरक्षालाई चुनौती दिँदै लुटपाटको शैलीमा यस्ता अराजक गतिविधि भइरहँदा हाम्रो अभिभावक सरकारसँग नगए हामी कहाँ जाउँ ? यहाँबाट उचित क्षतिपूर्ति र व्यवसाय पुनः निर्धक्क सञ्चालन गर्न सक्ने अवस्थाको प्रत्याभूतिको लागि सविनय अनुरोध गर्दछौँ ।’

अमूर्त आश्वासन भन्दा पनि ठोस प्रतिबद्धता चाहिएको भन्दै व्यवसायीहरूले अन्यथा देशैभरबाट व्यवसायीहरूको आन्दोलन गर्ने चेतावनी दिएका छन् । ‘क्षतिको आकलन गर्दै तत्काल क्षतिपूर्ति उपलब्ध गराउन र आन्दोलनका नाममा लुटपाट तथा आपराधिक क्रियाकलाप गर्नेहरूलाई तत्काल कानुनी कारबाहीको दायरामा ल्याउन समेत अनुरोध गर्दछौँ’ ज्ञापनपत्रमामा भनिएको छ ।