स्कुल बस मापदण्ड विपरीत चल्दा यात्रुलाई सकस

88

बागलुङ । बागलुङ बजार निकै सानो छ। यहाँका सडक तथा फुटपाथ पनि साँघुरा छन्। अव्यवस्थित रूपमा चल्ने सवारी साधन र व्यापारीका फुटपाथमा राखिएका सामानले पैदल यात्रु मारमा पर्दै आएका छन्।

मध्य पहाडी लोक मार्गले बागलुङ बजार त जोडिएको छ तर मुख्य सडकभन्दा बाहिर यो सडक पर्छ। बिहान ८ देखि १० र साँझ ४ देखि ६ बजेसम्म बागलुङ बजारका मुख्य तथा सहायक सडकमा यात्रा गर्न निकै कठिन हुने गर्छ। यसको कारण हो जथाभाबी रूपमा स्कुल बस चल्नु।

बागलुङका सरकारी तथा निजी विद्यालयले लामो समयदेखि मापदण्ड विपरीत स्कुल बस सञ्चालन गर्दै आएका छन्। सिट क्षमताभन्दा बढी चढाउँदा बालबालिकाले सास्ती भोग्नु पर्छ। ‘स्कुल बस निर्देशिका २०७४’ ल्याएको ५ वर्ष बितिसक्दा पनि बागलुङ कार्यान्वयन हुन सकेको छैन। विद्यालयले निर्देशिकाका सामान्य नियम पनि मान्दैनन्। कार्यान्वयन गराउने प्रहरी र प्रशासन मूकदर्शक छन्। जिल्लाका ५९ निजी विद्यालयमध्ये अधिकांशमा विद्यालय बस छन्। तर कसैले पनि निर्देशिका पालना गरेको पाइँदैन।

स्थानीय दयाराम पौडेलले विद्यालयहरूले बस सञ्चालन गर्दा निश्चित ठाउँ तोक्ने र सोही स्थानबाट विद्यार्थी चढाउने तथा झार्ने गरे बजारमा दुर्घटना जोखिम कम हुने र ट्राफिक व्यवस्थापनमा सहज हुने बताए। पौडेलले साँघुरो बजारमा दर्जनौँ स्कुल बस जथाभाबी रूपमा चलाउँदा व्यवसायी पनि समस्यामा पर्ने गरेको बताए ।