अब बायोमेट्रिक गरेर मात्रै सिमकार्ड दिने तयारी

67

काठमाडौं । सरकारले दुरुपयोग रोक्न भन्दै सिमकार्ड खरिद् गर्दा बायोमेट्रिक अर्थात् जैविक विवरण पेस गर्नुपर्ने व्यवस्था ल्याउन लागेको बताएको छ।
अधिकारीहरूका अनुसार सिमकार्डको गलत प्रयोग र त्यसबाट प्रेरित आपराधिक गतिविधि नियन्त्रण गर्ने हेतुले यस्तो योजना बनाइएको हो।
गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतका अनुसार मन्त्रालयले राष्ट्रिय परिचयपत्रका आधारमा बायोमेट्रिक लिएर मात्र सिम दिने व्यवस्था गर्न लागिएको हो।
मोबाइल फोन प्रयोगकर्ताले कहिलेकहीँ आफ्नो साटो आफ्ना परिवार, नातेदार वा अरू कसैको नामको सिमकार्ड प्रयोग गरेको पाइन्छ।
सिमकार्ड फोनमा कुरा गर्न वा एसएमएस गर्न मात्र प्रयोग हुँदैन।

अचेल ब्याङ्क खाता तथा वित्तीय एपहरू एवं सामाजिक सञ्जालमा पनि सिमकार्ड वा मोबाइल नम्बर जोडिएको हुन्छ।
नेपाल टेलिकमले आफ्नै नामको सिमकार्ड प्रयोग गर्न र अरूको नामको सिमकार्ड प्रयोग गरेको भए आफ्नो नाममा नामसारी गर्न सूचना प्रकाशित गरेको छ।“एउटा व्यक्तिको नामको सिमकार्ड अर्कोले दुरुपयोग गरेका विवरणहरू आइरहेका छन्। जैविक विवरण त एउटा व्यक्तिको अर्कोसँग मिल्दैन। त्यसैले बायोमेट्रिक लिएर सिम दिए त्यस्तो गतिविधि कम हुन्छ कि भन्ने आशय हो,” उनले बीबीसीलाई बताए।

यस प्रक्रिया अघि बढाउन दूरसञ्चार प्राधिकरणसँग आवश्यक छलफल अघि बढाएको बस्नेतले बताए।
यद्यपि, योजना लागू गर्नुअघि राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभाग र दूरसञ्चारबीच विवरण समायोजनको लामो प्रक्रिया बाँकी रहेको उनले जिकिर गरे।
“योजना छलफलकै क्रममा छ। त्यसैले आजको भोलि नै सिम लिँदा बायोमेट्रिक दिनुपर्छ भन्ने होइन,” उनले प्रस्ट्याए। बीबीसी