
काठमाडौं : प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी आन्दोलनका विभिन्न पक्ष धारलाई सामाजिक न्याय र रुपान्तरणका निम्ति एकताबद्ध भएर अगाडि बढ्न अपिल गरेका छन्।
२८औँ जनयुद्ध दिवसका अवसरमा पार्टी मुख्यालय पेरिसडाँडामा आज आयोजित कार्यक्रममा उनले मुलुकको समृद्धिका लागि माओवादीका विभिन्न धारबीच एकता आवश्यक रहेको बताएका हुन्।
“यो हामी सबैका निम्ति खुसी र गर्वको कुरा पनि हो, केही समयदेखि आन्दोनललाई एकताबद्ध गर्ने प्रक्रिया अगाडि बढेको छ”, उहाँले भन्नुभयो, “सबैले आआफ्नो ढङ्गले त्यो एकता प्रक्रियालाई निष्कर्षमा पुर्याउने प्रतिबद्धता पनि गरेका छन्।”
आफैँले पनि धेरै समूहको नेतृत्वसँग पनि पार्टी एकताका लागि विभिन्न छलफल चलाएको उल्लेख गर्दै उनले छिट्टै पार्टी एकताको प्रक्रिया अगाडि बढ्ने विश्वास व्यक्त गरे। “त्यसले माओवादी नेता कार्यकर्तामा मात्र होइन आम नेपाली जनतालाई पनि फेरि एक पटक नयाँ ढङ्गले उत्साहित गर्नेछ, नयाँ ढङ्गले सङ्गठित गर्ने काम हुनेछ”, प्रधानमन्त्री दाहालले भने।
अध्यक्ष दाहालले माओवादी आन्दोलनभित्रका मात्रै होइन, कम्युनिष्ट र समाजवादी आन्दोलनका शक्तिहरुसँग पनि समाजवादी मोर्चा बनाएर जाने सैद्धान्तिक सहमति बनेको बताए। “भोलिको नेपालको नेतृत्व लिन विकल्पका रुपमा छिट्टै एउटा समाजवादी मोर्चा अगाडि आउनेछ”, उनले भने, “यसका लागि तपाईंहरुले आआफ्नो ठाउँबाट पहल गर्नुपर्ने छ।”
जनयुद्ध राष्ट्रकै सम्पत्ति
कार्यक्रममा प्रधानमन्त्री दाहालले जनयुद्ध माओवादीको मात्रै नभएर नेपाल राष्ट्रकै सम्पत्ति भएको बताए। “जनयुद्ध माओवादीको मात्र नभएर राष्ट्र र आम नेपाली जनताकै सम्पत्ति बन्न पुग्यो। यसलाई ठीक ढङ्गले स्थापित गर्ने जिम्मेवारी भने तपाईं हाम्रै छ”, उनले भने, “हामीले नै यसलाई आम जनताका बीचमा स्थापित गर्ने र यसै प्रक्रियाबाट सुशासन र विकासको नयाँ अभियानतर्फ लैजानुपर्ने आवश्यकता छ।”
ऐतिहासिक दिन भएकाले वैधानिक तवरले जनयुद्धलाई यसअघि नै स्थापित गरिनुपथ्र्यो भन्दै उनले ढिलै भए पनि सरकारले जनयुद्ध दिवस मनाउने र सार्वजनिक बिदा दिने निर्णय गरेको बताए। “यो निर्णय सम्पूर्ण सहिद, बेपत्ता, घाइते र अपाङ्गता भएका व्यक्तिप्रतिको सम्मान हो”, प्रधानमन्त्री दाहालले भने, “यो परिवर्तनलाई अब सामाजिक, आर्थिक रुपान्तरणतर्फ अगाडि बढाउने सङ्कल्प पनि हो।” यो दिवसलाई स्मरण गर्दै अहिले आफूहरु सामाजिक न्याय, सुशासन र समृद्धिको नयाँ यात्रामा अगाडि बढेको उनको भनाइ छ।