गगन र प्रचण्डबीच राष्ट्रपति निर्वाचनबारे छलफल

159

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डलाई भेट्न काँग्रेस महामन्त्री थापा बिहीबार बिहान बालुवाटारस्थित प्रधानमन्त्री निवास पुगेका थिए । उनीहरूबीच राष्ट्रपति निर्वाचनबारे छलफल भएको स्रोतले बताएको छ। नेपाली काँग्रेसले समेत राष्ट्रपतिमा आफ्नो दाबी गर्दै आएको छ ।

केही बेरपछि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै छ । बैठकमा राष्ट्रपति र उपराष्ट्रपतिको सम्भावित उम्मेदवारको बारेमा छलफल हुने बताइएको छ । संयन्त्रको बैठकअघि प्रधानमन्त्री प्रचण्डले काँग्रेस महामन्त्री थापासँग छलफल गरेका हुन् । बुधबार प्रधानमन्त्री प्रचण्ड एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका थिए ।

सोही भेटबाट दुई शीर्ष नेताले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाउने निर्णय गरेका थिए । एमालेले पूर्व सहमति अनुसार एमालेले को व्यक्ति राष्ट्रपति हुनुपर्ने अडान राख्दै आएको छ । एकीकृत माओवादी केन्द्रले भने काँग्रेसलाई समेत सहभागी गराएर राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति चुनिनुपर्ने बताएको छ।