अर्धवार्षिक समीक्षा गर्दै राष्ट्र बैंक

100

काठमाडौँ । व्यवसायीहरूको अपेक्षा विपरीत राष्ट्र बैंकले बजारमा तरलता बढाउने गरी नीतिगत दर परिवर्तन नगर्ने भएको छ। शुक्रबार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्ने तयारी गरिरहेको राष्ट्र बैंकले अहिले कायम नीतिगत दर नचलाउने सङ्केत गरेको हो।

हाल वाणिज्य बैंकहरूसँग दुई खर्ब हाराहारी कर्जा लगानी योग्य पुँजी रहेपनि उनीहरू अलि सचेत भइरहेकोले बजारमा पैसाको प्रवाह नै रोकिएको व्यवसायीहरूले बताउँदै आएका छन्। पैसाको प्रवाह रोकिदा सबैभन्दा धेरै समस्यामा साना व्यवसायीहरू परेको व्यवसायी शेखर गोल्छाले बताए। बैंकबाट बजारमा पैसा पुग्ने गरी लगानी नभएकाले सहकारी, लघुवित्त कम्पनीहरूले लगानी बढाउन सकिरहेका छैनन्।

‘हाम्रो लगानीको आधार भनेको बैंकहरूबाट प्राप्त हुने सापटी नै हो, अहिले बैंकहरूबाट कम लगानी भइरहेकोले हामीलाई पनि तरलताको चाप परेको छ,’विजय लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत वसन्त राज लम्सालले बताए। सहकारीहरूबाट यसअघि भएको लगानी समेत जग्गाको कारोबारमा अड्किदा उनीहरूमा पनि तरलताको समस्या देखिएको छ। राष्ट्र बैंकले चालु पुँजी कर्जामा थप कुनै संशोधन नगर्ने सम्भावना समेत रहेको छ। ‘हामीले कायम यस्तो कर्जाको लागि निश्चित समयावधि दिइसकेका छौँ, बजारले यसलाई स्वीकार गरिसकेको छ, त्यसैले अब यसमा थप गर्नुपर्ने केही पनि छैन, एक कार्यकारी निर्देशकले उल्लेख गरे।