काठमाडौँ । सरकारले सम्पत्ति शुद्धीकरणमा कडाइ गर्न केही ऐनहरू संशोधन गर्न लागेको छ। संशोधन प्रक्रिया पूरा भयो भने निश्चित क्षेत्रफल वा रकमभन्दा बढीको घरजग्गा कारोबार गर्न इजाजत पत्र लिनु पर्नेछ। त्यस्तै क्यासिनो सञ्चालन गर्न इजाजतप्राप्त कम्पनीले पनि एक भन्दा बढी क्यासिनो चलाउन पाउने छैन।
हाल कार्यान्वयनमा रहेका १४ वटा ऐन तथा एउटा संहिता संशोधनको तयारी गरिएको अर्थ मन्त्रालय स्रोतले बतायो । यसका लागि सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐन संशोधन गर्न बनेको विधेयक मन्त्रिपरिषद् बैठकमा पेस भएको छ । त्यहाँबाट स्वीकृत भएपछि संघीय संसदमा दर्ता हुनेछ।
यसअघि प्रतिनिधि सभाले भदौ २१ गते पारित गरेको यो संशोधन विधेयक राष्ट्रिय सभाबाट पारित हुन सकेको थिएन। पछि कात्तिक ७ गते अध्यादेशमार्फत संशोधन गर्ने निर्णय गर्दै राष्ट्रपति कार्यालयमा पत्र पठाइएको थियो। तर प्रक्रिया अघि बढ्न सकेन ।
संशोधन गर्न लागिएका ऐनमध्ये मालपोत ऐन, २०३४ एक हो। यसलाई संशोधन गरेर निश्चित क्षेत्रफल वा रकमभन्दा बढीको घरजग्गा कारोबार गर्न इजाजत लिनुपर्ने प्रस्ताव गरिएको छ। कसैले शुल्क लिएर वा नलिई घरजग्गा खरिद–बिक्रीमा सहयोग गर्न वा व्यावसायिक सेवा दिन इजाजत लिनुपर्ने छ।














