सडकमा हुने पार्किङ हटाउँदै महानगर

53

कास्की । पोखरा महानगरपालिकाको सहरी क्षेत्रमा पार्किङ व्यवस्थापन लामो समयदेखिको समस्या हो ।

बढ्दो सवारी चापको तुलनामा व्यवस्थित पार्किङ नहुँदा यातायात व्यवस्थापन जटिल बन्दै गएको छ । सवारी साधन सडकमै पार्किङ हुन थालेपछि यातायातमा समस्या हुन थालेको छ भने यसले दुर्घटनाको जोखिम पनि बढाएको छ ।

सडकमा बढिरहेको सवारीको चापसँगै सडक दुर्घटना बढ्ने र सवारी आवागमनमा थप कठिनाइ भएपछि महानगरपालिकाले मुख्य सहरी क्षेत्रका सडकमा पार्किङ निषेधको घोषणा गरेको थियो ।

निजी क्षेत्र, यातायात व्यवसायीलगायतको विरोधपछि सो कार्यान्वयन नभए पनि अबदेखि महानगरले खाली रहेका सार्वजनिक तथा निजी जग्गालाई स-शुल्क पार्किङमा उपयोग गर्दै सडक पार्किङ हटाउने योजना बनाएको छ । यसका लागि पोखरा-९ न्यूरोडस्थित पूर्णिमा सिनेमा हल विस्थापन गरी खाली रहेको जग्गामा स-शुल्क पार्किङ सुरु गरिएको छ ।

महेन्द्रपुल, न्यूरोड, नयाँजबार, पृथ्वी चोक, चिप्ले ढुङ्गालगायतका बजार क्षेत्रका खाली जमिनलाई पार्किङमा प्रयोगमा ल्याउने र सडकबाट पार्किङ हटाउने काम सुरु भएको महानगरले जनाएको छ । महानगरले सडकको पार्किङ हटाइएका क्षेत्रमा नियमित चल्ने गरी सटल बसको समेत व्यवस्था गर्ने तयारी गरेको छ ।

महानगर प्रमुख धनराज आचार्यले सडक पार्किङका लागि अब बोलपत्र आह्वान गर्ने र सडकमा पार्किङ गर्ने परम्पराको अन्त्य गरिने बताए । ‘अहिले सडकमा भइरहेको पार्किङबापत कुनै शुल्क उठाएका छैनौँ’, उनले भने, ‘अब सडकमा सवारी साधन पार्क गर्ने दिन सकिए ।’