मुख्यमन्त्री रावलले माघ २५ मा विश्वासको मत लिने

127

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले माघ २५ गते विश्वासको मत लिने तयारी गरेका छन्। मुख्यमन्त्री रावलले विश्वासको मतका विषयमा आन्तरिक छलफल सुरु गरेका नेताहरुले जनाएका छन्।

मुख्यमन्त्रीले विश्वासको मतका लागि प्रस्ताव पेस गर्ने भएपछि सभामुख भीम भण्डारीले माघ २५ गते बिहान ११ बजेका लागि प्रदेश सभाको बैठक बस्ने गरी तयारी गरेका छन्।

पुस २७ गते, बुधबार मुख्यमन्त्री नियुक्त भएका रावल १ महिनाभित्रै विश्वासको मत लिइसक्नुपर्ने अवस्थामा छन्। सरकार गठनका बेला समर्थन जनाएको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिने वा नदिने भन्ने आशङ्काका कारण रावलले विश्वासको मत लिने मिति धकेलिँदै आएको हो।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा विश्वासको मतका लागि २७ सांसदको मत आवश्यक हुन्छ। मुख्यमन्त्रीमा दाबी पेस गर्दा रावललाई एमालेका १०, माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका १ गरी २९ सांसदको समर्थन रहेको थियो।