काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएको छ । सरकारबाट बाहिरिएपछि अब रास्वपाबाट मन्त्री बनेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र स्वास्थ्य राज्यमन्त्री तोसिमा कार्की फिर्ता हुने भएका छन् । कार्यभार सम्हालेको १९ दिनमै उनीहरु पदमुक्त भएका छन् । मन्त्रीद्धय खनाल र अर्याल तथा राज्यमन्त्री कार्कीले माघ ३ मा पद तथा गोपनियताको शपथ लिएका थिए ।
गत ११ पुसमा प्रधानमन्त्री पुष्पकमल दाहालसँगै उपप्रधान एवं गृहमन्त्रालयको जिम्मेवारी लिएका सो पार्टीका सभापछि रवि लामिछाने नागरिकता मुद्धामा सर्वोच्च अदालतको फैसलाबाट १३ माघमा पदमुक्त भएका थिए । अदालतको फैसलाबाट लामिछानेको उपप्रधान एवम् गृह, सांसद र पार्टीको सभापति गरी तीन वटै पद गुमेको थियो । तर, अदालतको फैसला लगत्तै लामिछानेले जिल्ला प्रशासन कार्यालयबाट नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा गरी पुनः उपप्रधान तथा गृहमा फर्किने चाह देखाएका थिए ।
माओवादी नेताहरुका अनुसार प्रधानमन्त्री दाहालले गृह मन्त्रालयमा तत्काल रास्वपाको स्वार्थ बाझिने र मुद्दाको पूर्ण पाठ समेत आइनसकेको अवस्थामा फेरि लामिछानेलाई मन्त्री बनाउदा राम्रो सन्देश नजाने भन्दै लामिछानेलाई मन्त्री नबनाउने अडान लिएका थिए । तर, सत्ता गठबन्धनकै अर्को घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने गृह मन्त्रालय लामिछानेलाई दिन अदालतको फैसलाको पूर्ण पाठ पर्खिनु आवश्यक नरहेको बताउँदै आएका छन् ।
रास्वपाका सभापति लामिछानेपछि राहदानी अपचलनको आरोपसमेत छ । उनको नागरिकता सम्बन्धी मुद्धाको फैसलाको पूर्ण पाठ आइसकेको छैन भने उनको राहदानी मुद्धामा प्रहरीले अनुसन्धान समेत गरेको छैन । लामो समय अमेरिका बसेर नागरिकता समेत लिइसकेका लामिछानेले नेपाल फर्किएर पत्रकारिता गर्दै राजनीतिमा सामेल भएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहालले नागरिकता मुद्दामा अदालतले पदमुक्त गरेपछि गैरसांसद बनेका रास्वपाका सभापति लामिछानेलाई पुनः गृहमन्त्री बनाउन अस्वीकार गरेपछि सो पार्टीले सरकार छोड्ने निर्णयमा पुगेको हो ।