काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अहिले मन्त्री नबन्न आग्रह गरेका छन् । आज बिहान बालुवाटारमा भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री प्रचण्डले गृह मन्त्रालय आफूले नै राख्ने र अर्को मन्त्रालय लिन उनलाई आग्रह गरेका थिए । उपनिर्वाचनबाट जितेर आए मात्र मन्त्री बन्न स्वाभाविक हुने उनको भनाइ थियो ।
“सर्वोच्चको पूर्णपाठ आउन बाँकी छ । शक्ति पृथकीकरणको सिद्धान्तमा इमानदार, बफादार छौँ । तपाईँको मन्त्रालयको संख्या घटाउन खोजेको होइन, जतिवटा मन्त्रालय तोकिएको छ, त्यो दिइन्छ,” प्रधानमन्त्री प्रचण्डको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, “तपाईँ उपनिर्वाचन लड्नुभयो र निर्वाचित हुनुभयो भने सरकारमा आउने कुरा स्वाभाविक छ । अहिले मन्त्री नबन्नुस्, गृह मन्त्रालय म (प्रधानमन्त्री)सँग नै रहन्छ । अरू विकल्प सोच्नुस् ।”
लामिछानेले शनिबार साँझ पनि प्रधानमन्त्रीलाई भेटेका थिए । उनी प्रधानमन्त्रीको प्रस्तावमा सकारात्मक रहेको बालुवाटार स्रोत बताउँछ ।