स्वास्थ्य मन्त्री गिरी र बेलायती राजदूतबीच भेटवार्ता

47

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरी र नेपालका लागि बेलायतका राजदूत निकोला क्याथरिन पोलिटबीच भेटवार्ता भएको छ । भेटमा मन्त्री गिरीले कोभिडको समयमा बेलायतले नेपाललाई गरेको सहयोगको स्मरण गर्दै धन्यवाद दिएका छन् ।

मन्त्री गिरीले बेलायत सरकारको सहयोगमा भक्तपुर अस्पताल र पश्चिमाञ्चल अस्पताल पोखरामा अस्पताल भवनको रेट्रोफिटिङ कार्य सञ्चालन भइरहेको बताउँदै यो सहयोगबाट गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न आवश्यक भौतिक पूर्वाधार तयारी र नेपाली प्राविधिक जनशक्तिहरूको क्षमता अभिवृद्धि गर्न अतुलनीय योगदान पुग्ने विश्वास व्यक्त गरे ।

उनले आगामी दिनमा नेपालको संघीय, प्रादेशिक र स्थानीय तहमार्फत प्रदान गरिने स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन र नेपाल स्वास्थ्य क्षेत्र रणनीतिक योजना (एनएचएस-एपी) कार्यान्वयन गर्नका लागि आर्थिक एवम् प्राविधिक सहायता निरन्तर प्राप्त हुनेमा विश्वास व्यक्त गरे ।

राजदूत निकोलाले वर्षौँदेखि स्वास्थ्य क्षेत्रमा गर्दै आएको सहयोगलाई निरन्तरता दिने बताइन् । उनले भक्तपुर अस्पताल र पश्चिमाञ्चल अस्पताल पोखरामा अस्पताल भवनको रेट्रोफिटिङ कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाइन् । उनले २०२६ सम्ममा नेपाल विकसित देशका रूपमा अगाडि बढ्न सहयोग गर्ने वातावरण बनाउन बेलायतले नयाँ-नयाँ कार्यक्रम ल्याउने जानकारी दिइन् । उनले स्वास्थ्य सेवामा भइआएका पुराना सहयोगलाई निरन्तरता दिने बताइन् ।

मन्त्री गिरीले राजदूत निकोलाले भनेका कुरालाई सकेसम्म पूरा गर्ने वचनबद्धता व्यक्त गरेका छन् ।