सेभेन थ्रीले बक्यौता नपठाए कानूनी कारबाही गर्ने

48

काठमाडौँ । नेपाल टी–२० लिगका लागि व्यापारिक र रणनीतिक साझेदारी सम्झौता एकतर्फी रद्ध गर्ने विवादित भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसविरुद्ध नेपाल क्रिकेट सङ्घ (क्यान)ले कानूनी प्रक्रिया सुरु गर्ने योजना बनाएको छ ।

मङ्गलवार क्यान र राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई चिठ्ठी पठाएर सेभेन थ्रीले सम्झौता रद्ध गरेको जनाएको थियो । क्यानका कोषाध्यक्ष रोशनबहादुर सिंहका अनुसार क्यानले सेभेन थ्रीसँग नेपाल टी-२० को ८ संस्करणका लागि सम्झौता गरेको छ । त्यसअनुसार क्यानले ३३ करोड रुपैयाँ पाउनेछ । पहिलो संस्करणबापतको ३ करोड ९० लाखमध्ये अहिलेसम्म २ करोड २० लाख रुपैयाँ जम्मा गरेको छ ।

त्यसबाहेक सेभेन थ्रीसँग सम्झौता गरेका फ्रेन्चाइज टिमहरूमध्ये अधिकांशले अहिलेसम्म खेलाडीलाई पूरा पारिश्रमिक दिएका छैनन् । प्लेयर अफ द म्याचसहित प्रतियोगिताको पुरस्कार रकम पनि सेभेन थ्रीले नै दिनुपर्ने सम्झौता छ । प्रतियोगिताको कुल पुरस्कार राशि १ करोड २५ लाख रुपैयाँ हो । मङ्गलवार सेभेन थ्री स्पोर्टसका मालिक जतिन अहुवालियाले टेलिफोन सम्पर्क गरी छलफल गर्न समय मागे पनि आफूले क्रिकेट सङ्घले पाउनुपर्ने सबै रकम पाएपछि मात्र कुराकानी गर्ने जवाफ दिएको सिंहले जानकारी दिए ।