काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सामाजिक सञ्जाललाई पनि नियमन तथा व्यवस्थापन गर्नुपर्ने बताएका छन् । सामाजिक सञ्जाल पनि आमसञ्चार माध्यमको रूपमा स्थापित हुन खोजिरहेको उल्लेख गर्दै उनले यस्तो धारणा राखेका हुन् ।
बिहीबार काठमाडौँमा आयोजित ‘आम निर्वाचन २०२२ को मिडिया अनुगमन प्रतिवेदनसम्बन्धी राष्ट्रिय कार्यशाला गोष्ठीमा थपलियाले सामाजिक सञ्जाललाई प्रेस काउन्सिल नेपालले अनुगमन गर्न सक्छ कि सक्दैन ? भनी प्रश्न गरे । उनले सबै सञ्चार माध्यममा प्रकाशित तथा प्रशारित हुने सामग्रीहरू स्वतः आउने गरी सफ्टवेयरको विकास गर्न पनि काउन्सिललाई आग्रह गरे ।
‘अहिले सामाजिक सञ्जाल पनि समाचार माध्यमको रूपमा स्थापित हुन खोज्दै छन् । यिनलाई कहाँ, कसले हेर्ने हो ? सबै यही प्रेस काउन्सिलले हेर्न सक्छ कि सक्दैन, त्यो अर्को पाटो हो । तर यसलाई पनि अव समग्रमा मैले चुनावको कुरा मात्रै गरिराखेको छैन । एउटा दायरामा ल्याएर यसको व्यवस्थापन र नियमनको पनि कुरा गर्नुपर्छ,’ थपलियाले भने ।