काठमाडौँ । काठमाडौँ उपत्यकाको विद्युत् वितरण प्रणालीलाई व्यवस्थित बनाउने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिकरणले काठमाडौँको तारकेश्वर नगरपालिकामा उच्च क्षमताको सवस्टेशन निर्माण गर्ने भएको छ । नियमित रूपमा उच्च भोल्टेजको बिजुली आपूर्ति गर्न तथा आकस्मिक रूपमा हुने विद्युत् विच्छेद जस्ता अवरोधलाई समेत न्यूनीकरण गर्न उक्त सवस्टेशन निर्माण गर्न लागिएको हो ।
प्राधिकरणले आगामी ३० वर्षसम्मको काठमाडौँ उपत्यकाभित्रको बिजुलीको मागलाई सहजतापूर्वक सम्बोधन गर्ने तयारी गरिरहेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले त्यसका लागि काठमाडौँमा ‘रिङ सर्किट’ निर्माण गर्ने बताए । यस्तै उनले नदी किनारै किनार एक सय ३२ केभी क्षमताका प्रसारण लाइन बनाउने घोषणा गरिसकेका छन् । सोही क्रममा काठमाडौँ उपत्यका तीन जिल्ला र काभ्रेपलान्चोकमा समेत भरपर्दो तथा गुणस्तरीय बिजुली प्रवाहका लागि नयाँ सवस्टेशन निर्माण गर्न लागिएको हो ।