यो वर्ष हिउँदमा ३० वर्षयताकै औसतभन्दा कम वर्षा

82

बीबीसी । नेपालमा यो वर्ष हिउँदमा तीन दशकयताकै औसतभन्दा निकै कम पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मङ्सिर १५ देखि फागुन १५ गतेसम्मको अवधिलाई नेपालमा हिउँदयाम मान्ने गरिएको छ।विभागस्थित हावापानी विश्लेषण शाखाकी प्रमुख तथा वरिष्ठ मौसमविद्‌ इन्दिरा कँडेलका अनुसार वर्षभरि हुने वर्षामध्ये करिब ४ प्रतिशत पानी हिउँदमा पर्ने गर्छ। देशका विभिन्न स्थानमा रहेका २० वटा मुख्य केन्द्रमा गरिने मापनको आधारलाई हेर्दा करिब ६० मिलिमिटर वर्षा हुने गरेको उनी बताउँछिन्। गत वर्ष हिउँदयामको आरम्भदेखि नै वर्षा थियो। तर यसपालि त्यस्तो नभएको कँडेलले बताइन्।

तथ्याङ्कले के भन्छ
विभागको तथ्याङ्कअनुसार सन् १९९१ देखि सन् २०२० सम्म डिसेम्बर १ देखि ज्यानुअरी १८ को अवधिमा औसतमा १२.६ मिलिमिटर पानी परेको थियो। सन् २०२१-२०२२ को सोही अवधिमा २७.१ मिलिमिटर पानी परेकोमा २०२२-२०२३ को हिउँदमा अहिलेसम्म ०.१ मिलिमिटर मात्र पानी परेको तथ्याङ्क छ।सन् १९९१ देखि सन् २०२० सम्म डिसेम्बर १ देखि फेब्रुअरी २८ को अवधिमा ६०.१ मिलिमिटर र २०२१-२०२२ को सोही अवधिमा ७५ मिलिमिटर वर्षा भएको थियो।

वर्षा
“हामीले हालै आकलन गरे जस्तै पानी पर्ने अवस्था देखिएको छ। पश्चिमी वायुको प्रभाव कम भएर अहिले पानी नपरेको अवस्था छ‍,” विभागकी प्रवक्ता वरिष्ठ मौसमविद्‌ विभूति पोखरेलले बीबीसीसँग भनिन्।मनसुनमा धेरै वर्षा भएको वर्ष ‘पोस्ट-मनसुन’ अर्थात् बर्खायामपछिको समय र हिउँदमा पनि राम्रै पानी पर्ने गरेको गरेको मौसमविद्‌हरू बताउँछन्।

मनसुन ‘राम्रो’ हुनुमा धेरै पक्षले प्रभाव पारेको हुन्छ। उनीहरूका अनुसार दक्षिण एशियामा मनसुनलाई मुख्यतया असर गर्ने प्रणाली भनेको प्रशान्त महासागरमा देखिने ‘एल निन्यो’ र ‘ला निन्या’ हो। समुद्री पानी सामान्यभन्दा बढी तात्ने अवस्थालाई एल निन्यो भनिन्छ भने समुद्री पानी औसतभन्दा कम चिसो हुने अवस्थालाई ला निन्या भनिन्छ।मनसुनमा एल निन्योका बेला दक्षिण एशियाली देशहरूमा कम र ला निन्याका बेला बढी वर्षा हुने गरेको मौसमविद्‌हरू बताउँछन्।

के काम पानी पर्नु चिन्ताको विषय हो
हिउँदयाममा यसै पनि कम पानी पर्ने गरेको पृष्ठभूमिमा अहिले सुक्खा हुँदा त्यसको प्रत्यक्ष प्रभाव हिउँदे बालीमा पर्ने वरिष्ठ मौसमविद्‌ कँडेल बताउँछिन्। नेपालमा हिउँदयाममा हिँउदे तरकारीका साथै गहुँ र मुसुरोजस्ता बाली लगाइन्छ।

“कम पानी पर्दा खानेपानीका मुहान सुक्न सक्छन्। त्यसका साथै वर्षा हुँदा वायुमण्डलमा रहेका धुलोका कणहरू पखालिएर जान्छन् भने पानी नपर्दा प्रदूषण पनि बढ्छ,” सुक्खा हिँउदले पार्ने असरबारे उनले भनिन्।“यसपालि ‘पोस्ट-मनसुन’मा पनि खासै पानी भएन र हिउँदमा पनि नहुने हो भने आउँदा महिनामा आगलागी र डढेलोका घटना बढ्न सक्छन्,” कँडेलले थपिन्।

काठमाण्डूसहित देशैभरि असाध्य चिसो बढ्नुका यी हुन् प्रमुख तीन कारण
जलवायु परिवर्तनको हेक्का नराखी ठूला आयोजना बनाउनु घातक हुने चेतावनी
जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेल पनि हिउँदयाम सुक्खा हुँदा त्यसको “बहुआयामिक असर” पर्ने बताउँछिन्।

“कृषिलाई नै फरक पर्ने भयो। भूमिगत पानीका स्रोत पुनर्भरण नहुने भयो। माटोमा चिस्यान घट्ने भयो। यो चिन्ताकै विषय हो,” उनले अगाडि भनिन्।यो हिउँदयाम सुक्खा हुने पूर्वानुमानसँगै हिउँदे बालीनालीका लागि सिँचाइको व्यवस्था गर्न भनेर सूचना पनि आफूहरूले यसअघि नै जारी गरिसकेको पोखरेलले बताइन्।“तराईमा यसपालि कैयौँ दिनसम्म शीतलहर चल्नु र बाक्लो कुहिरो लाग्नुमा पानी नपर्नु एउटा कारण हो,” उनले भनिन्।