पूनः काठमाडौं बेइजिङ उडान सुरु

41

काठमाडौं । काठमाडौं–बेइजिङ सिधा उडान ३२ महिनापछि पूनः सुरु भएको छ । यो उडान कोरोना महामारीका कारण २०७६ चैतदेखि बन्द भएको थियो । चीनले आफ्नो मुलुकमा लगाएको यात्रा प्रतिबन्ध पुस २४ गतेदेखि फुकुवा गरेपछि हिमालय एयरलायन्सले बेइजिङ उडान सुरु गरेको एयरलाइन्सका जानकारी दिएको छ । हिमालय एयरलायन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बेइजिङस्थित डाक्सिङ अन्तर्राष्ट्रिय विमानस्थलमा माघ २८ देखि हरेक शनिबार नियमित उडान गर्ने भएको छ ।

काठमाडौंबाट चीनको राजधानीका लागि सिधा उडान गर्ने हिमालय एक मात्र वायुसेवा हो । साढे ४ घण्टाहाराहारीको यो रुटमा पर्यटक, व्यापारी र विद्यार्थीहरूको आवागमन हुने गरेको छ । चीनको कुन्मिङ र ग्वाङझाउबाट काठमाडौं जोड्ने चिनियाँ वायुसेवाले राजधानी जोड्ने सिधा उडान हालसम्म गरेका छैनन् ।

यो विमान नेपालको उत्तरी भेगबाट तिब्बत हुँदै डिजाइन गरिएको नेपाल र चीन जोड्ने ट्रान्स हिमालय रुट हुँदै उड्छ । ल्हासा हुँदै बेइजिङ पुग्ने यो रुट बंगलादेश हुँदै जाने घुमाउरो रुटको दाँजोमा करिब २ घण्टा छोटो पर्छ । यो रुटमा १ सय ४४ यात्रु क्षमताको एयरबस ३१९ जहाजले उडान भर्ने छ ।