मध्यबिन्दु । यस वर्षको जलपक्षी गणनाका क्रममा नवलपरासी (बर्दघाट-सुस्ता पूर्व)मा ४३ प्रजातिका चरा भेटिएका छन्। चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका पक्षी गणना संयोजक डिबी चौधरीले यस वर्ष नवलपुर क्षेत्रमा ४३ प्रजातिका चरा भेटिएको जानकारी दिए।
‘गत वर्षको पक्षी गणनामा ३८ प्रजातिका पक्षी भेटिएका थिए, यसपालिको गणनामा नारायणी नदी क्षेत्रमा ४३ प्रजातिका पक्षी भेटिए’, उनले भने। चरा गणनाका क्रममा अहिलेसम्म नारायणी क्षेत्रमा नभेटिएको ‘राज सुड सुडिया’ नामको पक्षी पनि अहिले भेटिएको चौधरीले बताए। गत वर्ष नदेखिएका विभिन्न चार प्रजातिका चरा यसवर्ष देखा परेको संयोजक चौधरीले बताए।
‘यस वर्षको गणनामा जुरे हुटिट्याउ, बेल्चा ठुडे हाँस, जुरे हाँस र लाल खुट्टे टिम टिया प्रजातिका चरा फेला पारेका छन्’, उनले भने, ‘चितवन राष्ट्रिय निकुञ्जको नवलपुर क्षेत्रमा गत वर्ष यी प्रजातिका चरा गणना भएका थिएनन्।’ नेपालको जल क्षेत्रमा एक सय ६२ प्रजातिका चरा पाइने गरेका छन्। तीमध्ये नारायणी नदी क्षेत्रमा यसवर्ष उक्त प्रजाति फेला परेको जनाइएको छ।
नवलपुरतर्फको चितवन राष्ट्रिय निकुञ्ज र नारायणी नदी तथा सिमसार क्षेत्रमा चार समूह बनाएर चरा गणना गरिएको थियो। सिघ्रौलीदेखि अमलटारी, सिघ्रौलीदेखि पिठौली, पिठौलीदेखि अमलटारी र अमलटारीदेखि त्रिवेणी गण्डक ब्यारेजसम्म गरी चार समूहमा चरा गणना गरिएको हो।











