काठमाडौं । प्रधानमन्त्रीका रूपमा प्रचण्डको यो तेस्रो कार्यकाल हो । पहिलो र दोस्रो कार्यकालको परीक्षाको अनुभवका आधारमा सामना गर्न तयार भएका प्रचण्डका लागि यो तेस्रो परीक्षा हो । यो परीक्षा सामना गर्नुको विकल्प प्रचण्डका लागि छैन । उनको सफलता र असफलतामा मुलुकको विकास र समृद्धिको सफलता र असफलता पनि जोडिएको छ । हामीलाई मुलुकको सफलताको विकल्प खोज्ने सुविधा छैन ।
प्रचण्ड यस्तो पात्र हुन् जसले युद्धको नेतृत्व गरिरहँदा नै हरेक तहको नेतृत्व हरेक परीक्षामा पास हुनैपर्छ भन्ने गर्दथे । प्रचण्ड भन्ने गर्थे, एकपटक पास भएको वा उत्कृष्ट ठहरिएको नेता वा कार्यकर्ता सर्वकालिक पास वा उत्कृष्ट हुन्छ भन्ने छैन । त्यसैले क्रान्तिकारी भइरहन निरन्तर परीक्षामा सामेल हुँदै पास हुनैपर्ने बाध्यता छ । निरन्तर क्रान्तिको सिद्धान्त अनुसार क्रान्तिको नेता पनि निरन्तर पास हुन जरूरी छ भन्ने उनको आशय थियो ।
यो मामला क्रान्ति गर्ने समयको थियो । अर्थात् विद्यमान राज्य सत्ता ध्वंस गर्ने बेलाको थियो । तर यतिबेला परिस्थिति बदलिएको छ । अब ध्वंस हैन, निर्माणको आवश्यकता छ । पार्टी, समाज र राष्ट्र निर्माण आजको कार्यभार हो । हिजो ध्वंसमा उत्कृष्ट ठहरिएकाहरू आज निर्माणमा उत्कृष्ट ठहरिन जरूरी छ, त्यसले मात्र नेतृत्वको परीक्षा र परीक्षण हुन्छ । यही पृष्ठभूमिमा भन्दा अबको राजनीति निर्माणमा उत्कृष्टताको प्रमाणपत्र प्राप्त गर्ने गरी हुनुपर्छ, कम्तीमा यो परीक्षामा उत्तीर्ण भने पनि हुनैपर्छ । यो कुरा प्रचण्डका हकमा पनि लागू हुन्छ ।