Monday, October 19, 2026
Home स्वास्थ्य दादुराले विकराल रूप लिँदै

दादुराले विकराल रूप लिँदै

35

बाँके । जिल्लाको नेपालगञ्जमा दादुराका बिरामीको सङ्ख्या सोमबार दिउँसोसम्म ८० जना पुगेका छन्। दादुराका २८ प्रतिशत बिरामीले दादुराविरुद्धको खोप प्रयोग नगरेको पाइएको छ।परिवार कल्याण महाशाखाअन्तर्गतको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा। सागर दाहालका अनुसार ८० बिरामीमध्ये खोप नलिने २३ जना रहेका छन्। खोपको एकमात्रा लिने ३३ र दुई मात्रा लिने १२ बिरामी छन्। उनका अनुसार १२ बिरामीबारे कुनै जानकारी छैन।

उनले दादुराविरुद्धको खोपप्रतिको सचेतना अभावका कारण खोप प्रयोग नगर्दा प्रकोप फैलिएको बताए। ‘कूल बिरामीको सङ्ख्यामा २८ प्रतिशत बिरामीले खोप लगाएका छैनन्। खोप लगाउनु हुँदैन भन्ने समुदायको धारणाले उहाँहरू खोपबाट बञ्चित भएको देखिएको छ’, दाहालले भने।
उनले आजदेखि खोप लगाउने काम सुरु भएको समेत बताए। ‘प्रकोप फैलिएपछि सबैको ध्यानार्कषण भएको छ। धर्मगुरु र समुदायसँग बसेर आइतबार छलफल भएको थियो, उहाँहरूले भनेको स्थानमा आजदेखि खोप लगाउन सुरु गरिएको छ’, उनले भने।

हरेक वर्ष केही प्रतिशत बालबालिका पूर्ण मात्राको खोप लगाउन छुटेका छन्। उनले भने, ‘खोपको कभरेज धेरै देखिए पनि खोप नलगाएको असुरक्षित समूह बढ्दै जान्छ। असुरक्षित समूह धेरै भएपछि दादुरा प्रकोपका रूपमा देखिने गरेको छ।’