कर्मचारीलाई ई-पेन्सन अवधारणा सुरु

67

काठमाडौँ । राष्ट्रिय किताब खानाले निजामती सेवाबाट निवृत्त हुन लागेका कर्मचारीको हितलाई ध्यानमा राखेर ई-पेन्सन अनलाइन सेवा सुरुआत गरेको छ । ललितपुरबाट एक महिनाअघि प्रारम्भिक परीक्षण गरिएको उक्त सेवा अहिले दुर्गम जिल्लाबाट पनि पेन्सन पट्टाका लागि अनलाइन आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।

सूचना प्रविधिप्रतिको बढ्दो आकर्षण र सेवालाई छिटो, छरितो र प्रविधिमैत्री बनाउने सिलसिलामा ई-पेन्सनको अवधारणा अघि सारिएको किताब खानाका निमित्त महानिर्देशक सङ्गीता ओझाले जानकारी दिए । उक्त अवधारणाले पेन्सन पट्टाका लागि दूर दराजबाट राजधानी आएर अनेकथरि कागजात सङ्कलन गर्नुपर्ने झन्झट अन्त्य गर्नेछ ।

किताब खानाले निजामती, शिक्षक र प्रहरीको नियुक्तिदेखि अवकाश हुँदासम्मको सम्पूर्ण अभिलेख राख्दै आएको छ । निजामती सेवा ऐन तथा नियमावलीले २० वर्ष बढी सेवावधि पूरा गरेकालाई पेन्सन तथा त्योभन्दा कम अवधि हुनेलाई उपदान पाउने व्यवस्था गरेको छ ।

किताब खानाको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७८/७९ मा तीन हजार सात सय ८५ कर्मचारीले निवृत्तिभरण लिएका थिए । हालसम्म ८८ हजार निजामतीतर्फका कर्मचारी सेवा निवृत्त भएको अभिलेखबाट देखिन्छ । राष्ट्रिय किताब खाना मुलुकको शासनको स्थायी सरकारको रूपमा रहेको सार्वजनिक प्रशासनअन्तर्गतका पदाधिकारीको अभिलेख व्यवस्थापन गर्ने यो महत्त्वपूर्ण निकाय हो । उक्त कार्यालय मातहत निजामती कर्मचारी, शिक्षक र प्रहरी कर्मचारीको समेत अभिलेख व्यवस्थापन हुँदै आएको छ ।