तराई मधेशका जिल्लामा शीतलहर

62

काठमाडौं । तराई मधेशका जिल्लामा शीतलहर सुरु भएको मौसमविदले बताएका छन् ।

जल तथा मौसम विज्ञान विभागका अनुसार पूर्व मेचीदेखि पश्चिममा महाकालीसम्मै बाक्लो हुस्सु कुहिरोसँगै शीतलहर चलेको मौसमविद्को भनाइ छ । शीतलहरसँगै बढेको जाडोले जनजीवन प्रभावित भएको छ । शीतलहरका कारण जनजीवन प्रभावित भएपछि तराई मधेशका जिल्लाहरुमा धेरैजसो विद्यालय बन्द गरिएको छ ।

मौसमविद् विनु महर्जनले अधिकतम र न्यूनतम तापक्रमबीचको औसत अन्तर, घाम नलाग्ने अवधि, आकाशबाट तपतप शीत चुहिएको अवस्था लगायतका आधारमा शीतलहर चलेको घोषणा गरिन्छ । यही आधारमा मंगलबार नै तराई मधेशका जिल्लामा शीतलहर चलेको घोषणा गरेको मौसमविद् महर्जनले बताइन् ।

तराईका जिल्लाहरुमा अधिकतम र न्यूनतम तापक्रमबीचको अन्तर एक दशमलव ९ डिग्री सेल्सियससम्म झरेको छ । अधिकतम र न्युनतम तापक्रम औसत पाँच डिग्री सेल्सियसभन्दा कम हुनुलाई शीतलहरको एउटा आधार मानिन्छ । यस्तै दिनभरीमा दुई घण्टाभन्दा कम समयमात्रै घाम लाग्नु अर्को आधार हो ।