पोस्ट ग्र्याजुएट डिप्लोमा इन एजुकेसनको भर्ना नखोल्ने

31

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको शिक्षा सङ्कायले यो शैक्षिक सत्रमा पनि ‘पोस्ट ग्र्याजुएट डिप्लोमा इन एजुकेसन’ को भर्ना नखोल्ने भएको छ । त्रिविले एक वर्षे बीएड कार्यक्रम बन्द गरेर तीन सेमेस्टरको ‘पोस्ट ग्र्याजुएट डिप्लोमा इन एजुकेसन’ सुरु गर्ने गरी पाठ्यक्रम निर्माण गरिरहेको छ ।

शिक्षा शास्त्र संकायका डिन प्रा.डा. चित्रबहादुर बुढाथोकीले सेमेस्टर प्रणालीको पाठ्यक्रम निर्माण नसकिएका कारण यो शैक्षिक सत्रमा भर्ना खोल्ने सम्भावना कम रहेको बताए । पाठ्यक्रम निर्माण गर्ने विषय समिति अरू काममा लाग्नुपर्ने भएकाले ढिलाइ भएको डिन प्रा. डा. बुढाथोकीले बताए ।

त्रिविले २०७७ को चैतमा एक वर्षे बीएड कार्यक्रम बन्द गरेर सेमेस्टर प्रणालीमा ‘पोस्ट ग्र्याजुएट डिप्लोमा इन एजुकेसन’ सञ्चालन गर्ने सूचना निकालेको थियो । तर एक वर्षे बीएड बन्द गरेको दुई वर्ष भइसक्दा पनि सेमेस्टर प्रणालीको पाठ्यक्रम बनाउन नसक्दा विद्यार्थीहरू समस्यामा परेका हुन् ।

शिक्षाबाहेक अन्य सङ्कायबाट स्नातक उत्तीर्ण गरेर शिक्षण पेसामा लाग्न चाहने विद्यार्थीहरूले एक वर्षे बीएड उत्तीर्ण गर्नुपर्ने सरकारी नियम छ । त्रिविले भएको एक वर्षे बीएड कार्यक्रम बन्द गरेर अर्को विकल्प नदिँदा विद्यार्थीहरू समस्यामा परेका छन् ।