हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता चुन्नका लागि मतदान सुरु भएको छ । २ बजे सुरु हुने भनिएको मतदान ३:१५ बजे सुरु भएको हो ।
मतदान स्थलमा मोबाइल लैजान पाउने कि नपाउने भन्ने विषयमा विवाद भएपछि तोकिएको समयमा मतदान सुरु हुन नसकेको हो ।
दुवै जना उम्मेद्वारले मोवाइल लैजान नपाउने निर्णय दिएपछि पूर्वानिर्धारित समयभन्दा १ घण्टा १५ मिनेट ढिला गरि मतदान सुरु भएको छ ।संसदीय दलको नेताका लागि प्रदेश सभापति इन्द्रबहादुर बानियाँ र केन्द्रीय सदस्य बहादुरसिंह लामाले मनोनयन दर्ता गरेका छन् ।
मतदान ४:१५ बजेसम्म चल्ने बागमती प्रदेश संसदीय दलको नेता निर्वाचन समितिका संयोजक चन्द्र महर्जनले जानकारी दिए । संसदीय दलको नेताका लागि मंसिर ४ गते भएको निर्वाचनबाट प्रत्यक्षतर्फ निर्वाचित २५ जना र समानुपातिकतर्फ निर्वाचित १२ जना गरि ३७ जना प्रदेश सांसदले मतदान गर्नेछन् ।