निकुञ्जका खोर बाघले भरिए

77

चितवन । नरभक्षी बाघ राख्नका लागि बनाइएका खोर बाघले भरिएका छन्। चितवन राष्ट्रिय निकुञ्जमा खोरमा पाँच वटा बाघ छन्।निकुञ्जको मुख्यालय कसरामा तीन वटा र सौराहामा दुई वटा बाघ खोरमा छन्। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार सौराहामा मेघौली र कुमरोजबाट मानिसलाई आक्रमण गरेपछि उद्धार गरिएका बाघ राखिएको हो। कसरामा बाँकेबाट दुई वर्षअघि ल्याएको एउटा बाघ छ।

तिवारीले पश्चिम चितवनको मेघौलीमा हात्तीले मान्छे मारेपछि सोही क्षेत्रमा घाइते बाघ रहेको अनुमानमा खोजी कार्य जारी राखिएको बताए। त्यहाँ बाघ भेटिएमा राख्नका लागि पुरानो खोर मर्मत हुँदैछ। बाघको सङ्ख्या निकुञ्जमा बढेसँगै समस्यामा परेका बाघ पनि बढेका हुन्। सन् २०२२ को गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा वयस्क बाघको सङ्ख्या एक सय २८ छ। पर्सा राष्ट्रिय निकुञ्जमा भने बाघको सङ्ख्या ४१ छ। देशभर बाघको सङ्ख्या तीन सय ५५ छ।