पौडेल अर्थमन्त्रीमा नियुक्त, उद्योगीले गरे आन्दोलन स्थगित

131

काठमाडौँ । बैङ्कले चर्को ब्याज लिएको विरोधमा आन्दोलनमा उत्रिएका मोरङका उद्योगी व्यवसायीले आन्दोलन स्थगित गरेका छन् । नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले वार्तामा बोलाएको भन्दै उनीहरूले आन्दोलन स्थगित गरेका हुन् ।

सोमबार अर्थमन्त्री नियुक्त भएका पौडेलले सोमबार नै उद्योगी व्यवसायीलाई वार्तामा बोलाएका थिए । अर्थमन्त्रीले वार्तामा बोलाएपछि आन्दोलन स्थगित गरेको मोरङ व्यापार सङ्घ का अध्यक्ष नवीन रिजालले बताए । सरकारले माग सम्बोधन गर्ने आस देखाएको बताउँदै उनले माग सम्बोधन नभए पुनः सडक आन्दोलनमा फर्किने बताए ।

बैङ्कको चर्को ब्याजदरका विरुद्ध मोरङका उद्योगी र व्यवसायीले पुस ७ गतेयता नेपाल राष्ट्र बैङ्क प्रादेशिक कार्यालय विराटनगरको गेट अगाडि धर्ना दिइरहेका छन् । उद्योगीले एकल अङ्कको ब्याजदर कायम गर्नुपर्ने, स्प्रेड दर र संस्थागत ब्याजदर २ –२ प्रतिशत कायम गर्नुपर्नेलगायत माग राखेका छन् ।