कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिका-४ शंकरपुर गाउँका ४० वर्षीय राधे कार्कीले आफ्नो खेतमा यस वर्ष गहुँ छरेनन् । सिँचाइ सुविधा नभएका कारण गहुँ नछरेको उनी बताउँछन् । सोही गाउँका गोरे थारूले पनि आफ्नो छ कठ्ठा जग्गामध्ये तीन कठ्ठा जग्गामा मात्र गहुँ छरे। उनीहरु मात्र होइन, शंकरपुरमा अहिले अधिकांश किसानले बहुतै कम क्षेत्रफलमा मात्र गहुँ बाली लगाएका छन् ।
गत वर्ष किसानले गहुँ छर्दा यहाँ सिँचाइ सुविधा थियो । किसानहरूले कुनै खेत खाली नछोडी गहुँ छर्ने गरेकामा यस वर्ष सिँचाइको अभावका कारण कम क्षेत्रफलमा हिउँदे बाली गहुँ लगाएका हुन् । गत भदौ १८ गते परेको वर्षाका कारण विजयनगरमा रहेको शंकरपुर तालको बाँध फुटेपछि यहाँ सिँचाइ सुविधाको अभाव भएको हो । तालमा पानी नभएपछि सिँचाइमा समस्या भएको उनीहरुके गुनासो छ ।














