काठमाडौँ । काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा मात्र रात्रिबस पार्किङ गर्न पाइने भएको छ।
ट्राफिक प्रहरीले सरोकारवाला निकायसँग छलफल गरी मुलुकको सङ्घीय राजधानी काठमाडौँबाट देशका विभिन्न जिल्लाका लागि छुट्ने रात्रिबस गोँगबुस्थित नयाँ बसपार्कबाट मात्र पार्किङ गर्न पाइने व्यवस्था गरेको हो। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले रात्रिबस जथाभावी पार्किङ गर्नाले सवारी दुर्घटनाको जोखिम हुनुका साथै ट्राफिक जामसमेत हुने भएकाले अबदेखि नयाँ बसपार्कबाट मात्र सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको जानकारी दिए।
“ललितपुरको ग्वार्कोमा बन्न लागेको फ्लाई ओभर निर्माणसँगै रात्रिबस चक्रपथ वरपर सञ्चालन हुँदा सवारी साधनको जाम बढेकाले नयाँ बसपार्कबाट मात्र सञ्चालन गर्नुपर्ने व्यवस्था मिलाएका हौँ”, प्रवक्ता भट्टले भने। यसअघि रात्रिबस उपत्यकाको चाबहिल, गौशाला, कोटेश्वर, कलङ्की, गोँगबु, माछापोखरीलगायतका क्षेत्रमा पार्किङ गरिँदै आएका थिए।













