बागलुङ । जिल्लाको दक्षिण क्षेत्रलाई जोड्नेगरी २६ वर्षअघि निर्माण थालिएको बागलुङ–कुश्मीशेरा सडकमा अहिले पनि सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्छन् । मालढुङ्गादेखि कुश्मीशेरासम्मको २१ किमी सडकको ठाउँठाउँमा गएका पहिरा तथा मर्मत नभएको कच्ची सडकका खाल्डाखुल्डीले सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका हुन् ।
बागलुङ नगरपालिका–१ मालढुङ्गादेखि वडा नं १० को गलुवासम्मको एक किमी सडक कच्ची छ । गलुवाकै दव्ल्याङमा दुई वर्षअघि झरेको पहिरो नरोकिँदा यात्रा थप जोखिमपूर्ण बनेको हो । यो पहिरो रोकथाम तथा नियन्त्रणका लागि पूर्वाधार कार्यालय बागलुङले तयार पारेको लागत अनुमान मन्त्रालयमा पुगेर थन्किएको छ । कार्यालयले पहिरो नियन्त्रणका लागि रु एक करोड ३१ लाख ७७ हजार आठ सय ३७ को लगत अनुमान गरेको छ ।
“गत वर्ष नै पहिरो नियन्त्रणका लागि लागत अनुमान गरेर पठाएका हौँ, तर बजेट चार लाख मात्रै आयो”, कार्यालयका इञ्जिनियर कृष्ण गौतमले भन्नुभयो, “सामान्य पहिरो पन्छाएर सडक खुलाउनसमेत नपुग्ने बजेटले पहिरो रोकथाम गर्न सकिएन ।” वर्षायाममा बगिरहने पहिरो नियन्त्रणका लागि हिउँदमा सरोकारवालाको चासो नहुने सर्वसाधारणको गुनासो छ ।
“बर्खाभरि हिउँद लागेपछि पहिरो रोक्ने काम होला भनेर आशा गर्छौंं तर हिउँदमा सुनसान हुन्छ”, बागलुङ नगरपालिका–१२ अमलाचौरका कमल हमालले भन्नुभयो, “पहिरो खस्न थालेपछि मात्रै कामको चर्चा हुन्छ ।” पहिरो पन्छाउन मात्रै बागलुङ नगरपालिकाले दुई वर्षमा रु १० लाख खर्च गरेको छ । गत वर्ष नगरपालिकाले विनियोजन गरेको रु २० लाख बजेटबाट तयार भएका संरचना पहिरोले बगाएको छ ।
विसं २०७२ मा सडक विभागले कालोपत्र गरेको गलुवादेखि पाग्जासम्मको चार किमी खण्डको ठाउँठाउँमा खसेको पहिरोले सडक नै जोखिममा छ । कतै सडक भासिएको छ भने कतै सडकमाथिबाट आएको पहिरोले सडक नै पुरिएको छ । लामो समय बितिसक्दासमेत सडकको पहिरो सवारीसाधन एकतर्फी चल्ने गरी पन्छाउने गरिएको स्थानीय ज्ञानेन्द्र ढकाल बताउनुहुन्छ । पूर्वाधार विकास कार्यालय पर्वतले कालोपत्र गरेको पाग्जादेखि सरङ्गेसम्मको १० किमी खण्डमा खसेका पहिरोकोसमेत अवस्था उस्तै छ ।