संसदमा दलित प्रतिनिधित्व खुम्चिँदै

42

काठमाडौं ।  प्रतिनिधिसभामा दलित समुदायको प्रतिनिधित्व लगातार घटिरहेको तथ्यांकले देखाएको छ ।  २०६४ साल पछिका निर्वाचनमा प्रतिनिधि सभामा दलित समुदायको प्रतिनिधित्व निरन्तर खुम्चिँदै गएको हो । २०६४ सालको संविधान सभा निर्वाचनमा ८.४८ प्रतिशत रहेको दलित प्रतिनिधित्व आम निर्वाचन २०७९ सम्म आइपुग्दा ५.८१ प्रतिशतमा झरेको छ ।

२०७० सालकाे निर्वाचनबाट ६.८२ प्रतिशत दलित संसदमा पुगेका थिए भने  २०७४ सालको निर्वाचनमा ६ प्रतिशतमा दलित प्रतिनिधित्व खुम्चेको थियो । आमनिर्वाचन २०७९ सम्म आइपुग्दा संसदमा ५.८१ प्रतिशत मात्र दलित समुदायको प्रतिनिधित्व कायम छ ।

अघिल्लो निर्वाचनमा प्रत्यक्षतर्फ ३ जना दलित समुदायका उम्मेदवारले प्रत्यक्षतर्फ चुनाव जितेका थिए ।  यसपटक एक जनाले मात्र प्रत्यक्षतर्फ चुनाव जित्न सकेका छन् । नेपालको संविधान २०७२ को समानुपातिक समावेशी सिद्धान्तको आधारमा दलित सहभागिताको अवस्था खस्किँदो छ ।