पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल उडानयोग्य

42

काठमाडौँ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय उडानयोग्य  भएको छ । विमानस्थलमा हालै गरिएको यान्त्रिक परीक्षण उडान ‘क्यालिब्रेसन फ्लाइट’ को प्रतिवेदन सकारात्मक आएसँगै सो विमानस्थल अन्तर्राष्ट्रिय उडानयोग्य  भएको हो । अब विमानस्थल सञ्चालनका लागि अन्तिम तयारी समेत गरिएको छ । 

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का  प्रवक्ता जगन्नाथ निरौलाले यान्त्रिक परीक्षण उडानको प्रतिवेदन सकारात्मक आएको जानकारी दिए। उनले भने,’क्यालिब्रेसन फ्लाइटको प्रतिवेदन आइसकेको छ, प्रतिवेदनमा सबै कुरा राम्रो छ । प्रतिवेदनको ‘इन्फरमेशन’ छिट्टै प्रकाशन गरिनेछ ।’

प्रवक्ता निरौलाका अनुसार यान्त्रिक परीक्षणको प्रतिवेदन क्यानले स्वीकृत गरेपछि ‘एरोनोटिकल इन्फर्मेसन पब्लिकेसन’ (एआइटी) मा प्रकाशन गरिनेछ । प्रतिवेदनका आधारमा अन्तर्राष्ट्रिय विमान कम्पनीमा विमानस्थल सम्पूर्ण हिसाबले उडानका लागि तयार भएको जानकारी लिने र पोखरा गन्तव्यमा उडान गर्नसक्ने जनाइएको छ ।

एरोथाई कम्पनीको जहाजले गत मङ्सिर ५ देखि ११ सम्म सफलतापूर्वक यान्त्रिक परीक्षण उडान गरेको थियो । यान्त्रिक उडान विमानस्थलमा जडान भएका सञ्चार उपकरणले काम गरे-नगरेको परीक्षणका लागि गरिन्छ । यान्त्रिक उडानमार्फत पोखरा विमानस्थलमा रहेका एयर ट्राफिक कन्ट्रोलर, टावर, धावनमार्ग र विमानस्थलमा जडान भएका सञ्चार उपकरण परीक्षण गरिएको क्यानले जनाएको छ ।

यान्त्रिक परीक्षण सफल भएपछि मात्रै व्यावसायिक उडान सञ्चालन गरिने अन्तर्राष्ट्रिय अभ्यास छ । क्यानले यही पुस १७ देखि पोखरा विमानस्थलमा व्यावसायिक उडान सञ्चालन गर्ने घोषणा गरिसकेको छ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको पोखरा विमानस्थल सञ्चालनयोग्य भएसँगै मुलुकमा अन्तर्राष्ट्रिय विमानस्थलको सङ्ख्या तीन पुगेको छ ।

 त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७१ वर्षपछि मुलुकभित्र दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा रूपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको थियो । यसको सात महिनापछि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनयोग्य भएको हो ।पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख विक्रम गौतमले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि सम्पूर्ण तयारी भइरहेको जानकारी दिए  । हाल विमानस्थल सञ्चालनका लागि आवश्यक जनशक्तिको व्यवस्थापन भइसकेको छ ।