सर्वोच्चमा प्रधानन्यायाधीश छिर्ने गेट बन्द

25

काठमाडौँ । सर्वोच्च अदालत परिसरको सुरक्षा व्यवस्था कडा पारिएको छ। कानुन व्यवशायीहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई अदालत परिसरभित्र प्रवेश गर्न नदिने तथा आज पनि धर्नामा बस्दै छन्।

सम्भावित अप्रिय घटना नहोस् भनेर सुरक्षाकर्मीको तैनाथी बढाइएको छ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई संघीय संसदका महासचिव भरतराज गौतमले निलम्बन फुकुवाको पत्र दिएको विरोधमा कानुन व्यवसायीहरु आन्दोलित भएपछि सुरक्षा व्यवस्था कडा पारिएको हो ।

सर्वोच्च अदालतभित्र अनधिकृत व्यक्ति प्रवेश नगरुन् भनेर पनि चेकजाँच कडा पारिएको अदालतले जनाएको छ। आगन्तुकहरुलाई प्रहरीले उनीहरुको परिचय पत्र हेरेर र भित्र जानु पर्नाको कारणबारे सोधेर मात्रै प्रवेश गर्न दिएको छ। सर्वोच्च अदालतमा प्रधानन्यायाधीश प्रवेश गर्ने गेटमा भने ताला लगाएर बन्द गरिएको छ ।

नेपाल बार एशोसिएसनको भवनतर्फबाट सर्वोच्च अदालतभित्र पैदल हिँडेर जाने गेट भने खुला छ। त्यहाँ पनि सुरक्षाकर्मीहरु तैनाथ छन्। कानुन व्यवसायीहरु नेपाल बारको भवनतर्फबाट सर्वोच्च परिसरमा आइसकेका छन्।

सर्वोच्च अदालतको पत्रको जवाफ शुक्रबार नै संघीय संसदका महासचिव गौतमले दिनुपर्नेछ। जबराको निलम्बन फुकुवा हुने भनी संघीय संसदका महासचिव गौतमले दिएको पत्रविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज सुनुवाइ समेत हुँदैछ ।