धनगढी । पछिल्लो समय देशभर नै सडक अतिक्रमण गरी बनाएका संरचना हटाउने कार्य थालनी भएको छ। विशेष गरी स्वतन्त्र निर्वाचित भएका स्थानीय तहका जनप्रतिनिधिहरू अझ एक्सनका साथ अगाडि बढेका छन्।
काठमाण्डौँ, धरान र धनगढीलगायतका सहरमा अतिक्रमण गरी बनाएका संरचना हटाउने कार्यले तिव्रता पाएको छ। धनगढीको मुख्य सडकमा तीव्र रूपमा काम भइरहेको छ।
यस्तै, राजनीतिक दलहरूबाट निर्वाचित जनप्रतिनिधिहरू पनि एक्सनमा उत्रिन थालेका छन्। कैलालीको गोदावरी नगरपालिकाले असोजमै अतिक्रमण गरी बनाएका संरचना अर्थात् खोका छाप्राहरू हटाउने सूचना जारी गरेको थियो।
विभिन्न चाडपर्व, निर्वाचनलगायत कारणले रोकिएको थियो। निर्वाचनलगत्तै मेयर वीरेन्द्र भट्ट आफैँ फिल्डमा आएका छन्।
गोदावरी नगरपालिकाको अत्तरिया बजारलाई सुन्दर बनाउने उद्देश्यका साथ सडक क्षेत्राधिकार भित्र पर्ने संरचना हटाउने कार्य थालनी भएको मेयर भट्टले बताए। उनले भने, ‘सडक क्षेत्राधिकार भित्र पर्ने संरचना हटाउन ४ पटकसम्म सूचना जारी गर्दा पनि नहटाएपछि नगरपालिका डोजर लगाउन बाध्य भएको हो। मापदण्डविपरीत निर्माण भएका सबै संरचना हटाइनेछन्।’