पक्राउ परेका पत्रकार राई रिहाइको माग

67

खोटाङ । नेपाल पत्रकार महासंघ शाखा, खोटाङले समाचार लेखेको विषयमा पक्राउ परेका उदयपुरका पत्रकार गजेन्द्र राईको बिना सर्त रिहाइको माग गरेको छ । समाचार लेखेको विषयमा पत्रकार राईलाई साइवर क्राइमअन्तर्गतको मुद्दा चलाइएकोमा आपत्ति जनाउँदै महासंघले सो मुद्दा खारेज गर्न र विना सर्त रिहा गर्न माग गरेको हो ।

महासंघका अध्यक्ष दिलीप खत्रीले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै समाचारको विषयमा चित्त नबुझे प्रेस काउन्सिलमार्फत कानुनी उपचार खोज्नुपर्नेमा साइवर क्राइमको मुद्दा लगाएर पक्राउ गर्नु आपत्तिजनक रहेको बताएका छन् । ‘समाचार लेखेको विषयमा पत्रकार राईविरुद्ध साइबर क्राइमको मुद्दा दायर भएको छ ।

यो आफैमा प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने काम हो । समाचारको विषयमा चित्त नबुझे प्रेस काउन्सिलमार्फत कानुनी उपचार खोज्नुपर्नेमा साइबर अपराधको मुद्दा लगाएर पक्राउ गर्नु आपत्तिजनक छ,’ अध्यक्ष खत्रीले भने, ‘समाजको विकृति, विसंगति, भ्रष्टाचार, अपराधविरुद्ध निगरानी राख्न र आवाज बुलन्द गराउनु सञ्चार जगतको प्रमुख दायित्व हो । राज्यको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको हकलाई कुण्ठित गर्दै पत्रकार राईमाथि लगाइएको मुद्दा खारेज गर्न र विना सर्त रिहा गर्न माग गर्दछौँ ।’