Sunday, November 15, 2026
Home राजनीति सुकुम्बासीहरू तपाईंको भोट बैंक मात्र रहे : ओलीलाई बाले‍नको जवाफ

सुकुम्बासीहरू तपाईंको भोट बैंक मात्र रहे : ओलीलाई बाले‍नको जवाफ

57

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सुकुम्बासीहरू नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको भोट बैंक मात्र रहेको बताएका छन्।

मंगलबार फेसबुकमा स्टाटस राख्दै बालेनले केपी शर्मा ओलीको लागि सुकुम्बासीहरू केबल भोट बैंक मात्र रहेको बताएका हुन्।

अधिकार सम्पन्न बागमती सभ्यताको आग्रह र समन्वयमा काठमाडौं महानगरपालिकाले आफ्नो जिम्मेवारी पूरा गर्दै गरेको कार्यप्रति ओलीको उक्त धारणा आउनु सामान्य विषय भएको बालेनले‍ स्टाटसमा लेखेका छन्।

मंगलबार दिउँसो च्यासलस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्तीमा डोजर चलाएर सत्ताको उन्माद प्रदर्शन गरिएको बताएका थिए।

‘फुसका छाप्रा भत्काउन डोजर प्रयोग गरिएको छ। पक्की भवन भत्काउन हो र? त्यहाँ अशक्त होलान्, बालबच्चा होलान्। सुकुम्बासी हाम्रा शत्रु होइनन्। डोजर लगाएर त्यहाँ सत्ताको उन्माद देखाइयो’, ओलीले भनेका थिए।

सोही वक्तव्यको जवाफ दिँदै बालेनले २०४७ सालयता १४ वटा आयोग गठन हुँदा पनि काठमाडौंको सुकुम्बासी समस्या समाधान गर्न नसकेको तर्क गरेका छन्।