सुर्खेत २ मा हृदयराम थानीको विजयी

79

सुर्खेत । नेपाली कांग्रेस सुर्खेतका प्रभावशाली नेता हुन्, हृदयराम थानी । कांग्रेस सुर्खेतमा झण्डै साढे दुई दशक वर्चश्व जमाएका थानी कांग्रेसको १४औं महाधिवेशनमा भने नराम्रोसँग पछारिए ।

सुर्खेतमा थानीले संस्थापनइतर र पार्टी उपसभापति पूर्णबहादुर खड्काले संस्थापन पक्षको नेतृत्व गर्दै आएका छन् । यी दुई नेताबीचको संघर्षले १४औं महाधिवेशनमा थानी केन्द्रीय सदस्यमा एक मतले पराजित भए । जिल्लाको नेतृत्व पनि संस्थापनको पक्षमा गयो ।

सुर्खेत २ बाट थानीले टिकट पाउने/नपाउने अन्योल रह्यो । उपसभापति खड्का प्रत्यक्ष चुनाव लड्ने भएपछि दुई गुटको सन्तुलन मिलाउँदा थानीले टिकट पाए ।

बुधबार बिहान सकिएको मत गणनामा थानीले नेकपा एमालेका जिल्ला अध्यक्ष अमृत कुमार बीसीलाई पाँच हजारभन्दा बढी मतान्तरले पराजित गरे । थानीले ३४ हजार ६२५ मत पाउँदा एमालेका बीसीले भने २९ हजार ५५८ मत प्राप्त गरेका छन् ।

छौटौं पटक संसदीय निर्वाचन लडेका थानीले तेस्रो जित निकालेका छन् । १४ औं महाधिवेशनबाट सुस्ताएका थानी प्रतिनिधि सभामा विजयी भएसँगै उनको जितलाई सुर्खेतमा कांग्रेसमा ‘पुनरोदय’को रुपमा हेरिएको छ ।

थानीको विजयीले सुर्खेतका कांग्रेस नेता-कार्यकर्ताहरू पनि उत्साहित भएका छन्।  कांग्रेस नेता नारायण कोइरालाले सुर्खेती जनताले प्रभावशाली नेतालाई चुनेको र यसले उत्साह थपिएको बताए ।

उनले भने, ‘उहाँको जितले सुर्खेती कांग्रेसलाई पनि उत्साह थपेको छ । अझ भनौं उहाँको पुनरोदय भएको छ । सुर्खेती जनतालाई केही गरेर देखाउने अवसर पुनः जुरेको छ ।’