प्रकाशमानलाई भाेट माग्न डा. बाबुराम घरदैलाेमा

55

काठमाडाैँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले गठबन्धनलाई बलियो बनाएर मात्रै संविधानको रक्षा हुने बताएका छन्। शुक्रबार काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ का गठबन्धनका साझा उम्मेदवार एवं नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको घरदैलाै कार्यक्रममा सहभागी हुँदै उनले यस्तो बताएका हुन्।

उनले नेता सिंह देश विकासको लागि सही र सक्षम नेता भएकाले गठबन्धनका उम्मेदवारहरूलाई काठमाडाैँ १ का मतदाताले जिताउनेमा विश्वस्त रहेको बताए। उनले गठबन्धनमा साझा उम्मेदवारहरुले आसन्न निर्वाचन जितेको खण्डमा मात्रै संविधानको रक्षा र प्रतिगमनकारीलाई रोक्न सकिने भएकाले प्रकाशमानलगायत गठबन्धनका साझा उम्मेदवारहरूलाई मतदान गर्न आग्रह गरे। 

नेता भट्टराईले भने, ‘अहिलेको निर्वाचन विशिष्ट छ। सामान्य अवस्थामा बहुदलीय लोकतन्त्रमा दलहरूको प्रतिष्पर्धा हुन्छ। तर अहिले हामीले निर्माण गरेको, संघर्ष गरेर ल्याएको जुन संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान छ, त्यसमाथि नै प्रहार भएको हुनाले प्रतिगमनकारी शक्तिहरूका विरुद्ध अग्रगमनकारी हामी शक्तिहरूको गठबन्धन हो। त्यसअर्थमा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह योग्य व्यक्तित्व हुनुहुन्छ। व्यक्तिगत रूपमा पनि उहाँ स्वच्छ हुनुहुन्छ, त्यसैले उहाँले जित्नुपर्छ। हाम्रो गठबन्धनलाई बलियो बनाएर मात्रै संविधानको रक्षा हुन्छ। यसमा टेकेर सुशासन समृद्धि हुनसक्छ। त्यसैले उहाँको पक्षमा मतदान गर्न म आग्रह गर्दछु।’

उनले घरदैलो कार्यक्रममा वाम लोकतान्त्रिक गठबन्धनबाट मात्रै विकासले गति लिन्छ भन्ने आम नागरिकको विश्वास रहेको पाइएको पनि बताए।