ओलीले कालापानीबारे दार्चुलामा हैन भारतसँग कुरा गर्नुपर्छ : देउवा

28

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतीय नियन्त्रणमा रहेको नेपाली भूमि फिर्ता ल्याउनका लागि भारतसँग कुरा गर्नुपर्ने बताएका छन् । उनले संसद्ले एकमतले नेपालको नक्सामा राखेको भूमिलाई लिएर राजनीति गर्नुभन्दा पनि भारतसँग वार्ता गरेर फिर्ता ल्याउनुपर्ने बताएका हुन् ।

दार्चुलाको गोकुलेश्वरमा बुधबार आयोजित कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतका दलहरूको गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाले भारतीय नियन्त्रणमा रहेको नेपाली भूमि फिर्ता ल्याउन सबै एकमत रहेको बताए ।

प्रधानमन्त्री देउवाले नक्सामा राखेको भूमिलाई फिर्ता ल्याउन भारतसँग छलफल गर्नुपर्ने बताए । उनले दार्चुला आएर कालापानी, लिपुलेक र लिम्पियाधुराको जिकिर गरेर भूमि फिर्ता नआउने बताए । ‘भारतसँग कुरा गर्नुपर्छ । ओलीजीले बोलेर जाुनभएको छ, उहाँले दार्चुलामा होइन भारतसँग कुरा गर्नुपर्थ्यो । दार्चुला आएर फिर्ता हुने छैन । सबैलाई थाहा छ लिम्पियाधुरा, लिपुलेक, कालापानी कहाँ छ भन्ने । नेपालको भूभाग हो तर नेपालसँग छैन ।’