सडकमा माटो थुपारेर भक्तपुर-नगरकोट सडक खण्ड बन्द, तस्विरमा हेरौं

1123

नगरकोट । भक्तपुर र काभ्रे जिल्लाको सीमानामा पर्ने पर्यटकीय गन्तव्यको रूपमा परिचित नगरकोट सडकखण्ड विगत आठ वर्षदेखि अलपत्र छ । करिब १५ किलोमिटर भक्तपुर-नगरकोट खण्डको काम समयमै नसकेको भन्दै स्थानीय बासिन्दाले सडकमै माटो थुपारेर सोमबारदेखि सडक बन्द गरेका छन् । नगरकोट नाल्दुम पर्यटन विकाश समितिका अध्यक्ष नविन गुरुङले १५ ट्रकजति माटो सडकमा खन्याएर स्थानीयले बाटो बन्द गरेको बताए ।

संघीय सरकारको बजेटबाट सडकको स्तरोन्नतिका लागि आठ वर्षअघि शैलुङ कन्स्ट्रक्सनसँग सम्झौता भएको थियो । तर सम्झौता भएको लामो समय बितिसक्दा पनि सडक निर्माणले गति लिन सकेको छैन । भक्तपुर–नगरकोट–सिपाघाट सडक निर्माणको जिम्मा शैलुङ कन्स्ट्रक्सन–एआईपीएल (आरामाली इन्फ्रा पावर लिमिटेड) जेभीले ०७१ जेठ २२ मा पाएको थियो । २०७३ कात्तिक ४ मा काम सक्ने गरी जिम्मा पाए पनि हालसम्म करिब ७८ प्रतिशत मात्रै काम सकिएको छ । हालसम्म ७ पटक म्याद थप भइसकेको छ । पछिल्लो पटक गत भदौ ३ मा मन्त्रिपरिषद् बैठकबाटै आगामी चैत मसान्तसम्मको समयसीमा दिइएको छ ।

आयोजनाको लागतसमेत साढे ४ करोड रुपैयाँ बढेको छ । भ्याटसहित ३१ करोड ५२ लाख ९२ हजार रुपैयाँमा सम्झौता भए पनि अहिले लागत ३५ करोड ८७ लाख १८ हजार रुपैयाँ कायम गरिएको छ । लामो समयसम्म निर्माण कार्य अलपत्र पार्ने कम्पनीलाई कारबाही गर्नुको साटो राजनीतिक संरक्षण र शक्तिका भरमा पटक–पटक म्याद थप गरिएको भन्दै स्थानीय, व्यवसायी, जनप्रतिनिधिलगायतले ठेक्का नै रद्द गर्नुपर्ने माग गर्दै आएका छन् ।

यसअघि विभिन्न कार्यक्रम र माध्यमबाट दबाब दिँदै आए पनि निर्माण कम्पनीले अटेरी गर्दै आएको नगरकोट नाल्दुम पर्यटन विकाश समितिका अध्यक्ष गुरुङले नयाँ नेपाल न्यूजलाई बताए । विगतमा नगरकोटवासीले गतवर्ष सडक किनारमा शैलुङ कन्स्ट्रक्सनका प्रमुख शारदाप्रसाद अधिकारीको फोटो टाँसेर विरोध गरेका थिए । स्थानीय चाँगुनारायण ६ र ७ का वडाअध्यक्षहरुले सडकमै वडा कार्यालयको काम गरेर विरोध गरेका थिए । अधिकारी पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका घरबेटीसमेत हुन् ।

तस्विरः नविन गुरुङ