‘महापुरूष’ हलमा रिलिज, हाउसफुल

119

काठमाडौं । फिल्म ‘महापुरूष’ हलमा रिलिज भएको छ । फ्राइडे फिल्मअन्तर्गत एकल रिलिज भएको फिल्म नेपालसँगै अष्ट्रेलिया र अमेरिकामा प्रदर्शन भइरहेको छ । फिल्मले प्रदर्शनको पहिलो दिन नै हाउसफुलको सुरुवात गरेको छ । बिहानी शोमा नै दर्शक भरिभराउ देखिएपछि कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँले खुसी व्यक्त गरे । काठमाडौंका मल्टिप्लेक्सहरूमा बिहानी शोमै फिल्म हाउसफुल भएको हो । 

फिल्मको शुक्रबार बिहानैदेखि अकुपेन्सी आक्रामक देखिएको छ । ‘मुख्य कुरा फिल्म हेरेर निस्किनु भएका दर्शक खुसी र सन्तुष्ट हुनुहुन्छ । वर्ड अफ माउथले फिल्मलाई झनै फाइदा गर्ने विश्वास छ’, कार्यकारी निर्माता बानियाँले भने । 

फिल्मको बिहानी शो नै आक्रामक देखिएपछि कार्यकारी निर्माता बानियाँसँगै अभिनेता हरिवंश आचार्य, अभिनेत्री गौरी मल्ल, निर्देशक प्रदीप भट्टराई, नव प्रस्तुतिमा रहेका अरुण क्षत्री र अन्जना बराइली हल पुगेर दर्शकसँग प्रतिक्रिया लिएका थिए । बलियो मार्केटिङशैली, पब्लिसिटी र ट्रेलरबाटै फिल्मले प्राप्त गरेको संवेदनाको प्रभाव ओपनिङमा देखिरहेको छ । फिल्मको स्वदेशमा मात्र नभई अष्ट्रेलियामा पनि उत्तिकै प्रतीक्षा रहेको रङ्ग पत्रकार राजन घिमिरेले बताए । 

सिड्नीमा रहेका पत्रकार घिमिरेले फ्यामिली दर्शक फिल्मको शोमा देखिने बताए । ‘यहाँ पहिलो दिन नै अष्ट्रेलियाका विभिन्न सहरहरूममा २८ भन्दा बढी शो छ । धेरैपछि फ्यामिली फिल्म आएकोले सपरिवारनै टिकेट लिनेको संख्या बढी छ’, पत्रकार घिमिरेले भने । आइतबारसम्मै तिहार र छठ पर्व बिदा पनि भएकाले पहिलो सप्ताहन्तमा ‘महापुरुष’को ओपनिङ उछाल हुने अनुमान छ । 

काठमाडौं, चितवन र इटहरीमा भएका तीन अलग प्रिमियरको प्रतिक्रियाको फाइदा समेत फिल्मलाई हुनेछ । मल्टिप्लेक्स चेन क्युएफएक्सले मात्रै देशभरका आफ्ना आउटलेटमा ४१ शो पाएको छ । क्युएफएक्स अन्तर्गत दरबार सिनेम्याक्समा ३ शो, भक्तपुरमा रहेको क्युएफएक्समा ५ शो, लबिम मलमा ४ शो , सिभिल मलमा ५ शो , ठमेलमा रहेको छायाँ सेन्टरमा २ शो दिएको छ । क्युएफएक्सकै मोफसलअन्तर्गत नेपालगन्जमा ४ शो, वुटवलमा ४ शो, दमौलीमा ४ शो, नारायणघाटमा रहेको जलमामा ४ शो, विराटनगरमा ३ शो, विर्तामोडमा ३ शो दिएको छ ।

काठमाडौंमा रहेको मल्टिप्लेक्सहरुमा कमलपोखरीस्थित सिटी सेन्टरमा रहेको बिग मुभिजमा ४ शो, दरबारमार्गस्थित राइजिङ मलमा रहेको क्युज सिनेमाजमा ३ शो, गोंगबुमा रहेको बिएसआर मुभिजमा ५ शो, सुन्धारास्थित सिटिसी मलमा रहेको सिने डी सेफमा ५ शो र चाबहिलमा रहेको केएलटावरमा अवस्थित एफक्युबमा ५ शो रहेको छ । बानेश्वरमा रहेको वान सिनेमाजमा ५ शो र कालिमाटीमा ४ शो दिएको छ । यस्तै, आइएनआइ सिनेमाजअन्तर्गत लोत्से मलमा ४ शो र बुटवलमा रहेको आइएनआइमा ४ शो दिएको छ ।